image
image

दार्चुलाबाट यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा निकासी, लाखौँ राजस्व संकलन

काठमाडौँ १० असोज  । यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टल बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ ।

यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३० हजार रुपैयाँका दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत ८३ लाख ७० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको उनले बताए । व्यापारीको यो वर्ष खरिद गरिएको यार्सागुम्बा अझै बिक्री हुन बाँकी छ । गत असारदेखि खरिद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् । “यार्सागुम्बा खरिद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा बिक्रीका लागि काठमाडौं लगेका छैनौँ”, व्यापारी धनसिंह जागरीले भने, “अहिले जिल्लामै स्थानीयवासीबाट सङ्कलनको काम भइरहेको छ ।”

अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो रु नौ लाखदेखि २० लाख मूल्य पुगेको छ । व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा बिक्री गर्ने गर्छन् । यार्सागुम्बाको राम्रो मूल्यको प्रतिक्षामा व्यापारीले यार्सागुम्बा काठमाडौं लगेका छैनन् । व्यापारीले अहिले दार्चुला र भारतको धारचुलालगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । यार्सागुम्बा खरिदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलङ्गामा महिनौंदिनदेखि बसेका छन् । भारतबाट व्यापारीले लुकाइछिपाइ नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण व्यापारीले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् ।  

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।