image
image

यस वर्ष फूलको माग बढ्यो,  उत्पादन घट्यो

काठमाडौँ, १७, असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण यस वर्ष फूल उत्पादनमा कमी आए पनि माग बढेको छ । कारोना महामारीका कारण यस क्षेत्रका व्यवसायीले विगतका वर्षमा झै लगानी नगरेकाले फूल उत्पादनमा कमी आएको हो ।

फूल लगाउने समय फागुनदेखि साउनसम्म रहेको र उक्त समयमा कोरोनाको कारण व्यवसायीले लगानी गर्न सकेका थिएनन्, जसको असर फूल उत्पदनमा पनि देखिएको छ, फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।

“यस वर्ष बजार माग बढेको छ”, तामाङले भने, “माग बढी र उत्पादन कम भएपछि यस वर्ष तिहारको समयमा भारतबाट सयपत्री फूलको माला विगत वर्षको तुलनामा धेरै ल्याइन्छ ।”

यस वर्ष विगत दुई वर्षको तुलनामा १५ प्रतिशत फूलको माग रहेको बताइएको छ । कारोनाका कारण दैनिकरुपमा रु एक करोडको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करिब रु ५० लाखको कारोबार गर्न थालेको छ ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महिना फूलको बढी कारोबार हुने मौसम हो । अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना सङ्क्रमणदर पनि विस्तारै हट्दै गइरहेकाले यस व्यवसायले गति समाएको हो । विश्वभरि फैलिएको कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तङ्ग्रिन थालेको छ ।

त्रासकै बीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेसँगै उक्त व्यवसायले पनि लय समातेको हो । अझै पनि मठमन्दिर, होटल, पार्टी प्यालेस र पर्यटन व्यवसाय पूर्णरूपमा सञ्चालनमा नआएका यस क्षेत्रले नोक्सानको सामना गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

पछिल्ला वर्षमा सयपत्री फूलमा देश आत्मनिर्भर हुँदै गएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको माला भारतबाट ल्याउने गरिएको छ । अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थाले पनि यस वर्ष भने उत्पादनमा कमी रहेको छ ।

अघिल्ला वर्षमा वार्षिकरूपमा रु तीन अर्ब फूलको कारोबार हुने गरेको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ । असोजदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । हाल व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।