image
image

सुपर मार्केटदेखि खुद्रा पसलसम्म उपभोक्ता ठगीमा

काठमाडौँ १७ असोज । नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो । बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रुपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ । 

आज बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्य सूची टाँसेर सामान बिक्री गरेको पाइएको छ । दैनिक उपभोग्य सामानमा समेत पसलै पिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ । अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ । नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ । 

सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तलाई नाफा छुट नदिई बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ । सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।

सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीस्थित चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ । चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्माचार्यलाई तत्कालै रु १० हजार जरिवाना गरेको छ । स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको, कालो बजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

यसअघि प्रशासनको नेतृत्वमा मध्यपुरथिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटको अनुगमनमा भाटभटेनीले खरिद बिलबिजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री वितरण गरेको पाइएको उनले जानकारी दिए ।  

हार्डवेयरहरुले डण्डीदेखि सिमेन्टसम्ममा उपभोक्तालाई ठगी गर्ने पाइएको बताए । कम्पनीसँग छुट र बोनस लिने तर उपभोक्तालाई छुट नदिई उल्टै ढुवानी, लोड अनलोडको चार्ज भन्दै बढी मूल्य लिएर ठगी गर्ने गरेको पाइएको छ । सिमेन्टमा एक बोरामा रु ४५ ठगी गरेको पाइएको उनले बताए । केही समय अगाडि सूर्यविनायकको शक्ति ब्रान्डको पाउरोटीमा किरा परेको भेटिएको स्मरण गर्दै अनुगमनलाई नियमित गरी कारबाहीको थालनी नगर्दा व्यापारीको मनोबल बढ्ने गरेको उनको भनाइ छ । अनुगमन गर्ने तर कारबाही नगरी फर्कने प्रवृत्ति नै गलत भएको उनको भनाइ छ ।

आजको अनुगमनकै क्रममा सूर्यविनायकस्थित दीपु इम्पेक्सका सञ्चालक दिनेबहादुर धौबञ्जारले चाडबाडको मुखमा चिनी, खाने तेल, चामल र दालमा अत्यधिक मूल्य वृद्धि भएर आएको बताए । नेपालको चिनीलाई निरुत्साहित गरी भारतीय चिनीको आयात बढ्दा बजारमा मनोमानी भएको बताउँदै उनले भारतबाट आयात गरिएका धेरै म्याद गुज्रेका खाद्यान्नमा नेपालका डिलरले नयाँ स्टिकर टाँसेर पुनः बजारमा पठाउने गरेको पाइएको बताए । 
    
पसललाई मात्रै दोष दिन नमिल्ने भन्दै उनले डिलरबाटै उपभोक्ता ठगिने गरेको र बजारको महँगी वृद्धि नियन्त्रणमा सरकारी निकायले चासो नदिँदा बजारमा बेथिति बढेको बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।