image
image

तरकारीको भाउ छोइनसक्नु, उपभोक्ता मारमा

काठमाडौँ, १६, कात्तिक। चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य तेब्बर बढेको छ । तरकारीको मूल्य एक सातामा २० देखि ८० प्रतिशतसम्म बढेको छ ।

तरकारीको मूल्य ह्वात्तै बढ्दा सबैभन्दा बढी मारमा दैनिक मजदुरी गरेर जीविका चलाउने परेका छन् । बाढीका कारण किसानले लगाएको तरकारी बगाएको र डुबानमा परेर नोक्सान भएपछि मूल्यमा वृद्धि भएको व्यवसायीको भनाइ छ । वर्षाको पानीले निम्त्याएको विनाशका कारण तरकारी बजारसम्म पुग्न सकेकोे छैन, कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भने, किसानका खेतबारीमा वर्षाले केही बाँकी राखेन । तरकारीको अभाव भएसँगै मूल्य आकाशिएको छ । माग धेरै छ, आपूर्ति थोरै छ । त्यसैले मूल्यवृद्धि भएको छ ।

हाल ८० प्रतिशत तरकारी भारतबाट तथा १५ प्रतिशत तरकारी पहाडी जिल्लाबाट आयात हुने गरेको छ । पाँच प्रतिशत तरकारीमात्रै स्थानीय किसानले उत्पादन गरेको बजारमा पुग्ने गरेको छ । विगतका वर्षमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन हुने गरेको थियो । बीस प्रतिशत तरकारीमात्रै बाह्य क्षेत्रबाट आयात हुने गरेको थियो । भन्सार छलेर तरकारी भारतबाट बजारमा आउन थालेकाले मनोमानीरूपमा मूल्यमा वृद्धि गरिँदा तरकारीको मूल्यवृद्धि भएको हो । भारतबाट हाल दैनिक पाँचदेखि ६ ट्रक तरकारी आयात हुन्छ ।

बजारमा भित्रिनेमध्ये आधा तरकारी भन्सार छलेर ल्याइने गरिएको छ । पहाडी क्षेत्रबाट आउने गरेको तरकारी बिचौलियाका कारण मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् । हाल बजारमा रु ३० प्रतिकिलोका दरले बिक्री हुने सेतो आलु रु ५०, रु ३५ मा बिक्री हुने रातो आलु रु ६०, रु ६० मा बिक्री हुँदै आएको पहाडी आलु रु ८० मा बिक्री भइरहेको छ ।

यसैगरी रु ८० मा बिक्री हुँदै आएको प्याज रु १०० देखि रु १२०, गोलभेँडा ठूलो रु ८० बाट रु १२०, फर्सी रु ६० बाट रु १००, लौका रु ५० बाट रु ९०, बोडी रु ६० बाट रु १२० तथा काउली रु ६० बाट रु ९० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । भण्टा रु ६० बाट रु १२०, सिसला मिर्च रु १२० बाट रु २००, काँक्रा रु ६० बाट रु १००, हरियो तरकारी रु ५० बाट रु १२०, सिमी रु ८० बाट रु १६०, तितेकरेला रु ६० बाट रु १४० र खुर्सानी रु ८० बाट रु १३० प्रतिकिलोका दरले बिक्री भइरहेको छ । स्थानीय प्रशासनले तरकारी बजारको हालसम्म अनुगमन गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।