image
image

तेजपातको उचित मूल्य नपाउँदा कृषक निराश

काठमाडौँ  ८ मङ्सिर । जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न थालेका छन् ।

जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका कृषकले पाँच÷छ वर्षदेखि अहिलेसम्म पनि पुरानै बजार मूल्यमा तेजपात बिक्री गर्नु परेका कारण आफूहरूले घाटा सहेर भए पनि बाध्य भई तेजपात बिक्री गरेको गुनासो कृषकको छ ।

तेजपात खरिदकर्ता तथा व्यापारीले अहिले पनि विगत वर्षकै बजार भाउमा नै तेजपात खरिद गर्ने गरेको र उनीहरूले समयअनुसारको मूल्यवृद्धि गर्न नमान्दा पुरानै मूल्यमै तेजपात बिक्री गर्नुपरेका कारण आफूहरूले वर्षेनी ठूलो घाटा व्यहोर्नुपरेको रौता मुर्कुचीका देवराज मगरको गुनासो छ ।

मगर भन्छन्, “विसं २०७० मा नै आफूहरूले उत्पादन गरेको तेजपात प्रतिकिलो रु ३० देखि ५० का दरले बिक्री गरेका हौँ, सात वर्षपछि पनि उही मूल्य छ, व्यापारी तथा खरिदकर्ता मूल्यवृद्धि गर्न मान्दैनन्, यस वर्ष पनि तेजपात बिक्री हुने बेला सुरु भयो, तर मूल्यवृद्धि हुने अवस्था छैन ।”

उदयपुरगढी डुम्रेका तेजपात उत्पादक कृषक भक्तबहादुर घलेमगरले तेजपात खरिदकर्ता तथा जिल्लाका बिचौलिया व्यापारीका कारण आफूहरुले अहिलेसम्म सही मूल्य पाउन नसकेको बताउनुभयो । उनले भने, “हामीबाट रु ३० देखि ५० प्रतिकिलो खरिद गरी विराटनगर, वीरगञ्जका व्यापारीलाई रु ७०÷८० प्रतिकिलो बिक्री गर्दछन्, वीरगञ्ज, विराटनगरका व्यापारीले भारतीय व्यापारीलाई रु १५० देखि २०० सम्म प्र्रतिकिलो बिक्री गर्ने गरेका छन्, हामी ठगिँदै आएका छौँ ।”

समयानुसार तेजपात खरिदकर्ताले मूल्यवृद्धि गर्न नमान्ने र उनीहरुले कृषकबाट सस्तोमा तेजपात खरिद गरेर अन्यत्र बजारमा दोब्बर मूल्यमा बिक्री गर्ने गरेको समेत कृषकको आरोप छ । जिल्लाका तेजपात व्यापारी तथा खरिदकर्ता बिचौलिया बनेर मूल्यवृद्धिमा बाधक बनेका कारण आफूहरूले लामो समयदेखि तेजपातको उचित मूल्य पाउन नसक्दा अन्यायमा पर्दै र तेजपात उत्पादक कृषकको पक्षमा अहिलेसम्म पनि जिल्लाका अधिकांश जनप्रतिनिधि, स्थानीय सरकारसहित, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि कसैले पनि यसतर्फ वास्ता नगरेका कारण आफूहरुको गुनासो र आवाज सुनुवाइ नभएको सम्बद्ध कृषकको गुनासो छ ।

रौता बोलुङखाका देवेन्द्र खपाङ्गी मगर भन्छन्, “सबै व्यापारी मिलेर तेजपातको मूल्य बढाउन मान्दैनन्, हामी कृषकले मूल्यवृद्धि ग¥यौँ भने उनीहरु तेजपात खरिद गर्नै आउँदैनन्, अनि अन्त्यमा बाध्य भएर पुरानै मूल्यमा बिक्री गर्नुपर्ने बाध्य हुन्छ, सबै तेजपातका व्यापारी तथा खरिदकर्ता एकमुख भएर लाग्छन् ।”

यसपटक हिउँद लागेसँगै तेजपात बिक्रीको समय सुरु भएको र कारोबार सुरु भए पनि मूल्य भने पुरानै रहेका कारण कृषक मारमा परेको त्रियुगा नगरपालिका–१५ खाँबु हुबासका कृषकको गुनासो छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार अहिले उदयपुरमा चार पहाडी गाउँपालिकामा कृषकले व्यावसायिक तेजपात उत्पादन गर्दै आएका छन् । वार्षिक रु छ करोडदेखि आठ करोडभन्दा बढीको तेजपात उदयपुरमा उत्पादन हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साह बताउछन् ।

तेजपात उत्पादन हुने गाउँपालिकामा रौतामाई, ताप्ली, उदयपुरगढी, लिम्चुङबुङ छन् । यता त्रियुगा नगरपालिकाको साउने, खाँबु, चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर चौदण्डी, बेलका नगरपालिकाको मैनामैनी, बबला र कटारी नगरपालिकाको सिरिसे, हर्देनी, मयङखु, बेतिनीलगायत क्षेत्र छन् । सिरिसे, हर्देनी, मयङखु क्षेत्रमा उत्पादन हुने तेजपातको बिक्री केन्द्र जिल्लाको कटारी बजार हो भने तावाश्री, डुम्रे, रौता, साउने, भुटार, पोखरी खाँबु र आँपटारको बिक्री केन्द्र गाईघाट बजार रहेको तेजपात उत्पादक कृषक बताउँछन् ।

यस्तै सिद्धीपुर, चौदण्डी र कटुन्जेबबला क्षेत्रको उत्पादित तेजपातको बिक्री केन्द्र बेल्टार बजार रहेको छ । जिल्लाबाट बाहिर पैठारी गरेपछि तेजपातको मूल्य रु ८० देखि १०० प्रतिकिलो र भारतमा रु २०० प्रतिकिलोमा खरिदकर्ताले बिक्री गर्ने गरेको तेजपात उत्पादक कृषक बताउँछन् ।

अहिले उदयपुरमा तेजपात उत्पादन गर्ने कृषक तर मूल्य निर्धारण गर्ने अन्य खरिदकर्ता व्यापारी भएका कारण कृषकले उत्पादन गरेका तेजपात समयानुसारको सही मूल्य नपाएको तेजपात उत्पादक कृषकको गुनासो छ । यस वर्ष पनि हिउँद लागेसँगै तेजपातको कारोबार सुरु हुन थालेको कारण सम्बन्धित निकायले तेजपातको मूल्यको सहीरूपमा निर्धारण गरेर तेजपात उत्पादक कृषकलाई न्याय दिनुपर्ने जिल्लाका तेजपात उत्पादक कृषकले माग गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।