image
image

रियल इस्टेटमा बैंकले प्रवाह गरेको कर्जा करिब ९ प्रतिशत  बढ्यो

काठमाडौँ, १२, मंसिर । कोभिडको जोखिम कम भएसँगै घरजग्गा व्यवसाय फस्टाउन थालेको छ । गएको तीन महिनामा यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा करिब ९ प्रतिशत बढ्नुले पनि त्यसलाई पुष्टि गर्ने जानकार बताउँछन् ।

गत भदौमा यस क्षेत्रमा प्रवाह भएको कर्जा २.३ प्रतिशत मात्र बढेको थियो । गएको तीन महिनामा रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले करिब १६ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । यसअनुसार गत असोजसम्म रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कुल लगानी १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो ८.७ प्रतिशत बढी हो । गत असारमा रियल इस्टेट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह १ खर्ब ८३ अर्ब ६१ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षको तीन महिनामा यस्तो लगानी २.१ प्रतिशत घटेको थियो ।

खासगरी सेयर बजार ओरालो लाग्न थालेपछि लगानीकर्ताले घरजग्गा व्यवसायमा लगानी बढाएकाले रियल इस्टेट कारोबार फस्टाएको जानकारहरू बताउँछन् । यसअघिका वर्षमा पनि सेयर बजार घट्न थालेपछि घरजग्गा व्यवसाय फस्टाउने गरेको स्मरण गर्दै एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘सेयर बजारबाट कमाएको पैसा लगानीकर्ताले स्थिर सम्पत्ति घरजग्गामा राखेको देखिन्छ ।

विगतका वर्षमा सेयर बजार र घरजग्गा कारोबारबीच करिब उल्टो सम्बन्ध रहँदै आए पनि गत वर्षयता बेग्लै परिस्थिति देखिएको चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईले बताए । कोभिडपछि विश्वव्यापी रूपमै पुँजी बजार र घरजग्गा कारोबार फस्टाएको उनको धारणा छ । कोभिडको जोखिमबाट बच्न सरकार र राष्ट्र बैंकले राहतका कार्यक्रम (क्वान्टिटेटिभ इजिङ) आएकाले बजारमा मुद्रा आपूर्ति बढ्यो । मुद्रा आपूर्ति बढेपछि सेयर बजार र घरजग्गा कारोबार फस्टाएको उनको बुझाइ छ । यद्यपि सेयर बजारको वृद्धिको तुलनामा घरजग्गा कारोबारको वृद्धि सुस्त रहेको उनले बताए । ‘एकदेखि डेढ वर्षको अवधिमा सेयर बजार करिब शतप्रतिशत बढेको छ,’ भट्टराईले भने, ‘तर सेयर घरजग्गा कारोबार ३० देखि ४० प्रतिशत मात्र बढेको छ ।’

कोभिडको जोखिम कम भएसँगै बैंक तथा वित्तीय संस्थाले आक्रामक रूपमा कर्जा प्रावह गरेका छन् । यसरी प्रवाह भएको कर्जा करिब ६० प्रतिशतभन्दा धेरै आयातजन्य क्षेत्रमा प्रवाह भएको छ भने बाँकी ४० प्रतिशतमध्ये अधिकांश घरजग्गामा गएको हुन सक्ने जानकारहरू बताउँछन् ।

कोभिडको असर क्रमिक रूपमा कम हुँदै गएको, खोपको उपलब्धता बढ्दै गएको, वैदेशिक रोजगारीमा जानेको संख्या तथा विदेशी पर्यर्टकको आगमनसमेत बढ्न थालेको, विद्युत् निर्यात सुरु हुनुका साथै मौद्रिक तथा वित्तीय नीतिगत सहजीकरण कायमै रहेकाले आर्थिक पुनरुत्थानले गति लिने देखिएको राष्ट्र बैंकको दाबी छ ।

आर्थिक पुनरुत्थानको चरणमा कर्जाको माग बढिरहेको र यस्तो कर्जाको ठूलो हिस्सा आयात भुक्तानीमा खर्च भइरहेको तर रेमिट्यान्स आप्रवाह अपेक्षित रूपमा बढ्न नसकिरहेकाले बाह्य क्षेत्र स्थायित्वमा दबाब कायमै रहने देखिएको छ, राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा भनेको छ, ‘चालु आर्थिक वर्षमा स्थानीय तहको निर्वाचनमा हुने खर्चले समष्टिगत माग थप विस्तार भई मूल्य र आयातमा समेत चाप पर्ने स्थिति छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिले समेत नेपालको मुद्रास्फीति बढ्ने देखिएको छ । साथै, यस बैंकले हालै सम्पन्न गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षणमा समेत आगामी दिनमा मूल्य वृद्धिमा थप चाप पर्ने देखिएको छ ।

राष्ट्र बैंकका अनुसार गएको चार महिनामा बैंक तथा वित्तीय संस्थाले वार्षिक लक्ष्यको करिब ५० प्रतिशत कर्जा विस्तार गरिसकेका छन् । आक्रामक रूपमा कर्जा विस्तार गरेकै कारण बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको आरोप राष्ट्र बैंकले लगाउँदै आएको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालनको तुलनामा कर्जा विस्तार अधिक रहेकाले तरलतामा चाप पर्ने स्थिति देखिएको छ, समीक्षामा भनिएको छ । कर्जा नियन्त्रण नै अहिले तरलताको समस्या समाधानको भरपर्दो उपाए भएको राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।