image
image

कुरिलो खेतीमा रमाउँदै छन् किसान

काठमाडौँ २० मङ्सिर। कनकाई नगरपालिका-६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी गर्न थालेकी छिन्।उनले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी भएको जानकारी दिइन्। उनले भनिन्, 'कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो।'

उनले यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा कुरिलो खती विस्तार गर्ने गरी बेर्ना उमारिरहेकी छिन्। छ महिना जति प्लाष्टिकको थुँगामा उमारेर हुर्काएको विरुवा रोपेको तीन महिनादेखि नै आम्दानी हुने गरेको उनको अनुभव छ।

गत वर्ष लोकल जातको (मेरी वासिङ्टन) कुरिलोको बेर्ना लगाएकी उनले यस वर्ष हाइब्रिड जातको कुरिलोको बर्ना हुर्काइरहेकी छिन्। उनले १० ग्राम हाइब्रिड जातको कुरिलोको बीउको मूल्य चार हजार रुपैयाँ पर्ने बताइन्। कृषिमा श्रीमान् दधिराम न्यौपानेको दरिलो साथ पाएकी उनले गत वर्ष प्रतिकेजी तीन सयदेखि १ हजार २ सय रुपैयाँ होलसेलमा कुरिलोको टुसा बिक्री गरेको बताइन्।

कोरोनाका कारण व्यापार व्यवसाय बन्द भएपछि दमक नगरपालिका-३ मा दुई जना युवा मिलेर कुरिलो खेती सुरु गरे। उनीहरुले एग्रो फर्म प्रालि कम्पनी नै दर्ता गरेर व्यावसायिक रुपमा १० कट्ठामा कुरिलो खेती लगाएका हुन्। नारायण योङहाङ, याम भण्डारीको संयुक्त लगानीमा सुरु गरेको फार्मले बर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरु गरेको थियो। उनीहरुले कोभिड-१९ को सङ्क्रमण फैलिइरहेको बेला प्रतिकेजी १ हजार ४ सय रुपैयाँले बिक्री गरेको बताए।

फार्मका सञ्चालक योङहाङले सुरुमा दैनिक पाँच केजी देखि १० केजी मात्र टुँसा उत्पादन हुने गरेको कुरिलाले हाल दैनिक ५० केजी उत्पादन दिन थालेको बताए। 'कुरिलोको सब्जी या सुपमा इम्युनिष्टी पावर बढी हुँदोरहेछ', उनले भने, 'विगतमा कोरोनाका सङ्क्रमितले मगाउनुहुन्थ्यो हामीले घर-घरमै पुर्‍याइदियौँ।'

हाल यसको बजार मूल्य प्रतिकेजी ५ सय रुपैयाँ रहेको उनले बताए। उनले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभई पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत अग्र्यानिक हुने दाबी गरे। कुरिलोको माग जिल्लामै बढिरहेको हुँदा बजारको समेत समस्या नरहेको उनको भनाइ छ। विगत २५ वर्षदेखि दमकमा बबिन कृषि भण्डार सञ्चालन गर्दै आउनुभएका वसन्त न्यौपानेले दुई वर्ष यता मात्र कुरिलोको विजन राम्रोसँग बिक्री हुन थालेको बताए। उनले कोरोना कालमा मान्छेले कुरिलोको महत्व बुझेपछि मात्र जिल्लामा यसको खेती हुने गरेको बताए। 

'विगतमा दुई चार प्याकेट विजन राख्थे कसैले खोज्दैनथे', उनले भने, 'कोभिड–१९ का सङ्क्रमितले जब यसको टुसा खोज्न थाले अनि मात्र किसान विजन खोज्दै आउन थाले।' कुरिलोको विजनको मूल्य प्रति केजी दुई लाख ५० हजार रुपैयाँ पर्ने उनले बताए। उनले गतवर्ष काठमाडौँबाट दुई केजी र यस वर्ष तीन केजी कुरिलोको विजन ल्याएर बेचेको बताए। उनका अनुसार झापामा यसको व्यावसायिक खेती गर्ने किसान १५ देखि २० जना छन्।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कुरिलोलाई एक औषधिजन्य वनस्पति रुपमा लिइने बताए। उनले यो दोमट, बलौटे र पारिलो घाम लाग्ने माटोमा हुने हुँदा झापा कुरिलो खेतीका लागि उर्वरभूमि रहेको बताए। जिल्लामा विगतमा फाटफुट्ट मात्र यसको खेती हुने गरे पनि हाल व्यवसायिक रुपमा खेती सुरु हुन थालेको उनले जानकारी दिए। 'कुरिलो बुहर्षीय बाली हो', उनले भने, 'एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट पाँच वर्षदेखि सात वर्षसम्म उत्पादन लिन सकिन्छ।'

कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकाले बिरामी तथा कमजोर व्यक्तिलाई खान दिने धेरै पुरानो प्रचलन हो। विगतमा जङ्गलमा उम्रिएको कुरिलो खोजेर खाने चलन भए पनि यसको व्यावसायिक खेती भने भर्खरै हुन थालेको मेचीनगर-१३ का ७५ वर्षीय हर्क इधिङ्गोको भनाइ छ। रासस 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।