image
image

लगानी बढाउन बैंकहरू आक्रामक

काठमाडौँ १२ फागुन - कोभिड—१९ महामारीका कारण लामो समयसम्म कर्जा विस्तार सुस्त भएका बैंकहरु अहिले आक्रामक हुन थालेका छन् । महामारी कम भई जनजीवन सामान्य हुँदै गएपछि बैंकहरुले लगानी बढाउन थालेका हुन् । कर्जा विस्तार उच्च भए पनि त्यसको तुलनामा बैंकहरुको निक्षेप वृद्धि भने न्यून नै छ ।
नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महिनामा वाणिज्य बैंकहरुले ४ खर्ब १५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । अघिल्लो आवको यसै अवधिमा बैंकहरुको लगानी २ खर्ब ८७ अर्ब रुपैयाँ वृद्धि भएको थियो ।
चालू आवको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुको कर्जा २५ अर्बले घटे पनि भदौपछि भने लगातार वृद्धि भइरहेको छ । सबैभन्दा बढी पुस महिनामा १ खर्ब ४३ अर्ब लगानी गरेका छन् । माघ महिनामा मात्र बैंकहरुको कर्जा ७४ अर्ब रुपैयाँ वृद्धि भएको छ । यसैगरी फागुन पहिलो सातामात्रै १७ अर्ब ऋण बढेको छ ।
बैंकहरु कर्जा विस्तारमा आक्रामक भए पनि निक्षेप भने खासै वृद्धि हुन सकेको छैन । चालू आवको ७ महिनासम्ममा बैंकहरुको निक्षेप ३ खर्ब रुपैयाँ वृद्धि भएको छ । साउन र कात्तिक महिनामा भने निक्षेप वृद्धि ऋणात्मक भएको थियो । गत आवको यसै अवधिमा बैंकहरुको निक्षेप १ खर्व ८८ अर्बले वृद्धि भएको थियो । माघ महिनामा बैंकहरूको निक्षेप ५ करोडले मात्र वृद्धि भएको छ । फागुनको पहिलो सातामा भने निक्षेप १२ अर्ब वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा अर्थशास्त्री दीपेन्द्रबहादुर क्षेत्री आर्थिक गतिविधि सुस्त भएका बेला कर्जा विस्तार उच्च भएकाले नियामक निकाय चनाखो हुनुपर्ने बताउँछन् । “कोभिडका कारण आर्थिक गतिविधि सुस्त छ । यो अवस्थामा कर्जा विस्तार हुँदा कता गइरहेको छ भनेर चनाखो हुनुपर्छ,” उनले भने ।
राष्ट्र बैंकले चालू आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकको तथ्यांकमा पनि बैंकहरुले छोटो अवधि र व्यक्तिगत प्रयोजनमा खर्च गर्न सकिने प्रकृतिका कर्जा लगानी वृद्धि गरेको देखिएको छ । पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशत, ओभरड्राफ्ट १३.४ प्रतिशत, डिमान्ड तथा चालू पुँजी कर्जा १३.६ प्रतिशत, रियल स्टेट कर्जा ४ प्रतिशत, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ । यसैगरी हायर पर्चेज कर्जा ४.४ प्रतिशतले घटेको छ ।
कोभिडका कारण उद्योग–व्यवसायमा नयाँ लगानी थपिन नसकेको अवस्थामा बैंकहरुले पुरानो ऋण राम्रो देखाउनका लागि अन्य शीर्षकमा कर्जा लगानी गरेको हुनसक्ने र यसबाट वित्तीय जोखम बढाउने पूर्वगभर्नर क्षेत्रीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।