image
image

नेपालबाट भारततिर पेट्रोलियम पदार्थको तस्करी बढ्यो

काठमाडौं १२ फागुन ।पछिल्लो समयमा नेपालबाट भारततर्फ अधिक मात्रामा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । नेपालमा सस्तो र भारतमा महंगो हुँदा बेलाबेलामा यस्तो तस्करी हुने गरे पनि स्थानीय प्रशासनले नियन्त्रण गर्ने गरेको थियो । तर, पछिल्लो समयमा भने नेपालको प्रशासनले पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन । भारतबाट नेपालमा प्रवेश गर्ने मालवाहक गाडीहरुले नेपालबाट फर्कँदा फुलट्यांकी तेल हाल्ने कुरालाई सामान्य तस्करीको रुपमा लिइए पनि अहिले भने त्यसको अतिरिक्त ड्रममै नेपालमा तेल किनेर भारतीय बजारमा बिक्री हुन थालेको छ ।

भारतमा मूल्य अधिक हुँदा भारतबाटै नेपाल निर्यात भएको डिजेल र ग्यासको तस्करी भएको भारतीय मिडियाले बताएका छन् । नवभारत टाइम्सका अनुसार नेपाल निर्यात भएको पेट्रोलियम पदार्थ सीमावर्ती राज्यमा तस्करी भएको पाइएको छ । भारतीय प्रहरीलाई उद्धृत गर्दै तयार गरिएको रिपोर्टअनुसार १३ सय ६० लिटर डिजल बोकेको एक ट्यांकर तस्करीको लागि पठाइएको थियो ।

यो ट्यांकर गत हप्ता नेपालमा पक्राउ परेको समाचारमा दाबी गरिएको छ । भारततर्फका कतिपय पेट्रोल पम्पहरुमा पेट्रोलको मूल्य एक सय भारु प्रतिलिटर नाघेको छ । ग्लोबल पेट्रोल प्राइस डटकमका अनुसार यो मूल्य दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा महंगो हो । नेपालले भारतबाटै सबैजसो पेट्रोलियम पदार्थ आयात गर्छ भने बंगलादेश र श्रीलंकामा समेत भारतले नै निर्यात गर्छ ।

बिहार राज्यको अदापुर स्थानका एक पेट्रोल पम्पका सञ्चालक रवि भारतीले नेपालमा कर कम हुँदा पेट्रोलियम पदार्थको मूल्य कम भएको कारण नेपालबाट भारततिर तस्करी सुरु भएको बताए । अदापुरबाट नेपालसम्मको सीमा करिब २ माइल मात्रै टाढा पर्छ । उनका अनुसार तस्करीका कारण अदापुरका पेट्रोलपम्पलाई समेत बिक्रीमा असर परेको छ । ती सञ्चालकका अनुसार अदापुरका पम्पहरुको बिक्रीमा ह्वात्तै गिरावट आएको छ । तस्करी गरिएको इन्धन पम्पमा भन्दा सस्तोमा बिक्री हुने हुँदा यसो भएको उनी बताउँछन् । उनका अनुसार प्रत्येक दिन १८ सय लिटरसम्म बिक्री हुने गरेको उनको पम्पबाट अहिले बिक्री घटेर १२ सय लिटरमा झरेको छ ।

त्यसो त माघ पहिलो साता नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाटै डिजेल चोरी हुने गरेको भेटिएको थियो । पटना–सिवान–मोतीहारी हुँदै नेपाल आउने पाइपलाइन फुटाएर डिजेल चोरी भएको भन्दै भारतीय आयल कर्पोरेसन (आईओसी)ले प्रहरीलाई उजुरी गरेको थियो । बिहार राज्यमा पर्ने सिवानमा व्यवस्थित रुपमा पाइप प्वाल पारी डिजेल चोरी भएको थियो । नेपाललाई इन्धन आयात सहज होस् भनेर अमलेखगन्ज डिपोसम्म पाइपलाइन निर्माण गरिएको थियो । यसबाट नेपालको इन्धन ढुवानी लागत कम हुने र बीच बाटोमा हुने चोरी तस्करी पनि केही हदसम्म कम हुने आकलन गरिए पनि यो घटनाले नेपाली र भारतीय अधिकारीलाई चकित पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।