image
image

केराको मूल्य नपाउँदा किसान चिन्तित

काठमाडौँ, २६, मंसिर । दुई वर्षदेखि २ बिघा खेतमा व्यावसायिक केरा खेती गरिरहेका जिराभवानी–१ पिपराका किसान जितेन्द्र यादव अहिले मूल्य नपाउँदा निराश छन् । सस्तो मूल्यमा भित्रिने भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा उनले लागत उठाउन नसकेको गुनासो गरे ।
व्यापारीहरू खेतसम्मै केरा किन्न त आइपुग्छन्, तर भाउ उनीहरूले तय गर्छन्, यादव भन्छन्, ‘हामीसँग प्रतिदर्जन १२ देखि २० रुपैयाँमा किन्छन्, उपभोक्तालाई ८० रुपैयाँ दर्जनमा बेच्छन् ।

बढी मूल्य तोक्न खोज्दा उनीहरूले भारतीय केरा खरिद गर्ने धम्की दिने गरेको यादव गुनासो गर्छन् । व्यापारीले भारतीय केरा प्रतिकिलो ५ रुपैयाँमा सहजै पाइने बताएर धेरै मूल्य तिर्न खोज्दैनन्, यादव भन्छन्, ‘रहरले केरा खेती गरियो, अहिले सस्तोमा बेच्नुपरेको छ । पछिल्लो समय केरा खेतीमा किसानको आकर्षण बढ्दो क्रममा रहे पनि मूल्य नपाउँदा किसान निराश भएर यो खेती नै त्याग्ने गरेको यादव बताउँछन् ।

ठोरी गाउँपालिका–५ सुवर्णपुरका अर्का किसान सूर्य फिउवाले भारतीय केरासँगको प्रतिस्पर्धा अन्त्य नभएसम्म नेपाली केराले सहजै मूल्य नपाउने बताए । उनले १६ बिघामा केरा खेती गर्दै आएका छन् । आफूले मालभोग जातको केरा लगाएको र यसलाई बजारको समस्या नरहे पनि यसै जातको भारतीय केरा भित्रिँदा अत्यधिक प्रतिस्पर्धा गर्नुपरेको उनले बताए ।

भारतमा केरा खेतीको लागत तथा श्रमिकसमेत तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले मूल्य पनि कम भएको उनको भनाइ छ । केराको न्यूनतम मूल्य निर्धारणका साथै बजार व्यवस्थापनको काममा सरकारी हस्तक्षेप भइदिए आफू जस्ता धेरै किसान लाभान्वित हुने फिउवा बताउँछन् ।‘यो नगदेबाली हो, यसलाई सरकारीस्तरबाटै संरक्षण र प्रोत्साहन आवश्यक छ, उनले भने, ‘यसो हुँदा नेपाल केरामा आत्मनिर्भर भई भारतबाट आयात प्रतिस्थापनसमेत हुन जान्छ ।

केरा किसानले स्थानीय तहबाट कुनै पनि खाले प्राविधिक सहयोगसमेत पाएका छैनन् । यादवले आफूले २ वर्षयता पटकपटक गाउँपालिकाको कार्यालय धाउँदासमेत आवश्यक सल्लाह सुझाव दिने कृषि विज्ञ कर्मचारी नपाएको गुनासो गरे । एक त हामीजस्ता किसानलाई बालीमा हुने समस्या तथा औषधि आदिबारे सही जानकारी दिने कृषि प्राविधिक नै भेटिँदैनन्, उनले भने, त्यसमाथि बालीमा हाल्ने औषधि चितवन र काठमाडौंबाट ल्याउनुपर्ने बाध्यता छ ।

हाल पर्सामा करिब ७५ बिघामा केरा खेती गरिएको कृषि ज्ञान केन्द्र पर्साको तथ्यांक छ । यस वर्ष थप २५ बिघामा खेती भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसादले जानकारी दिए । उनका अनुसार जिल्लाका बहुदरमाई, फुलकौल, भेडिहारीमा यस वर्ष केरा खेती बढेको छ । तर वीरगन्ज महानगरबाहेक अन्य पालिकामा कृषि प्राविधिकको अभाव रहेको उनले बताए । किसानलाई सल्लाह सुझावको आवश्यकता परे कृषि ज्ञान केन्द्रमा नै आउन उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।