सेयर बजारमा ४९.१९ अंकको वृद्धि, कारोबार रकम घट्यो
काठमाडौँ, ४, माघ । पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ।
मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरी उत्तरचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा पुगेर तल झरेको छ।
आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको छ। त्यस्तै आज ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२४ अंक बढेको छ।
आज कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से उकालो लागे पनि आज कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।
नेप्से परिसूचकका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक हरियाली छाएको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ६.१५ प्रतिशत बढेको छ। लघुवित्त, जीवन बीमा, होटल तथा पर्यटन र विकास बैंकको सूचक ३ प्रतिशत र जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ। तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.४३ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका ५ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको सेयरमूल्य १० प्रतिशतले बढेको छ।
सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशतभन्दा बढी बढेको छ। यता माउन्टेन इनर्जी नेपालको सेयर मूलय भने ३.५२ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको सेयर कारोबार भएर अपी पावर कम्पनी पहिलो स्थानमा रहेको छ भने दोस्रोमा गोर्खाज फाइनान्स रहेको छ।









