दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बढ्यो
काठमाडौँ, २७, माघ । दूग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।
डीडीसीको हिजो बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ निर्धारण गरेको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । अब आधा लिटर प्याकेट दुधको मूल्य ४२.५० रुपियाँ पुगेको छ । यसअघि प्रति प्याकेट ३८ रुपियाँ थियो ।
मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ ।









