डिडिसीलाई भन्दा निजी डेरीमा दूध बेच्न फाइदा, किसानलाई लिटरको ६२ रूपैयाँ दिने
काठमाडौँ, २८, माघ । निजी डेरी उद्योगीले किसानलाई दूध प्रतिलिटर ६२ रूपैयाँ दिने भएका छन्। शुक्रबार डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएनद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा किसानलाई दूध प्रतिलिटर ६२ रूपैयाँ दिने घोषणा भएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले किसानलाई दूधको मूल्य बढाउने निर्णय गरेसँगै निजी डेरी उद्योगहरूले यसको खरिद मूल्य बढाएका छन्।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष राजकुमार दाहालका अनुसार आइतबारबाट लागू हुने गरी (४ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ) किसानहरूबाट खरिद गरिने कच्चा दूधको न्यूनतम मूल्य ५३.४५ बाट वृद्धि गरी ६२ रूपैयाँ तोकिएको छ। ‘डिडिसीले चितवनलाई आधार मानेर प्रतिलिटर ६० रूपैयाँ दिने भनेको छ। हामीले दुई रूपैयाँ बढी दिएका छौं,’ अध्यक्ष दाहालले भने।
उपभोक्तालाई भने स्टान्डर्ड प्रशोधित दूध प्रतिलिटर १० रूपैयाँ बढाई ८६ रूपैयाँ पुर्याइएको छ। यसअघि दूध प्रतिलिटर ७६ रुपैयाँ थियो। नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)ले भने उपभोक्ता मूल्य ९ रूपैयाँ बढाएको छ।
डिडिसीको तुलनामा निजी डेरी उद्योगले दूध उपभोक्तालाई प्रतिलिटर एक रूपैयाँ बढी लिएपनि किसानलाई भने प्रतिलिटर दुई रूपैयाँ बढी दिएको छ। निजी डेरी उद्योगहरू धराशायी बनाउने मनसायले डिडिसीले उपभोक्ता मूल्य नौ रुपैयाँ वृद्धि गरेको विषयमा नीजि क्षेत्रले भने असहमति जनाएको छ।









