१० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौँ, ६, फागुन । नेपाल राष्ट्र बैंकले फागुन ८ गते (आइतबार) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।सोमबार निष्कासन हुने विकास ऋणपत्र '२०८३ ’च’ को अवधि ५ वर्ष रहेको छ। बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ।
इच्छुक लगानीकर्ताले फागुन ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ। ऋणपत्र यही फागुन ८ गते निष्काशन हुनेछ भने २०८३ फागुन ९ गते साँवा भुक्तानी हुनेछ।इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ।
विकास ऋणपत्रका ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ।









