९ महिनामा ४८.६४ प्रतिशत मात्र बजेट खर्च
काठमाडौँ, २, वैशाख । चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि चैतसम्म ९ महिनाको अवधिमा सरकारले जम्माजम्मी ४८.६४ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।
यसअवधिमा लक्ष्यको साढे ६७ प्रतिशत बजेट स्रोत जुटाएको सरकारको विकास खर्च भने अत्यन्त निराशजनक छ । ९ महिनाको अवधिमा सरकारको विकास खर्च २८ प्रतिशत पनि पुगेको छैन ।
केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । चैत्रमसान्तसम्म सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको हो ।महालेखा नियन्त्रकको कार्यालयका अनुसार २०७८ चैत्र ३० गते बुधबारसम्म सरकारले २७.४५ प्रतिशतमात्रै पूँजीगत खर्च गर्न सकेको छ । अर्थमन्त्री जनार्दन शर्माले गत मंसिरमा पत्रकार सम्मेलन गरेर हरेक महिना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका भएको पनि सो अनुसारको काम हुन नसक्दा अर्थमन्त्रीले अघि सारेको लक्ष्य विफल हुँदै गएको छ ।
प्रतिस्थापन बजेट मार्फत अर्थमन्त्री शर्माले चालुतर्फ १० खर्ब तीन अर्ब ७४ करोड ७ लाख, पूँजीगततर्फ ४ खर्ब २९ अर्ब ६५ करोड ९ लाख र वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेका थिए ।
जसमध्ये ९ महिनाको अवधिमा कूल बजेट ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख खर्च भएको छ । यसअवधिमा पूँजीगत खर्च २७.४५, चालूतर्फ ५८.७२ र वित्तीय व्यवस्थापनतर्फ ३४ं.२९ प्रतिशत बजेट खर्च भएको छ ।









