ब्रोइलरको कुखुराको मासु अहिलेसम्मकै मंहगो
काठमाडौँ, २६, वैशाख । नेपाली बजारमा ब्रोइलर कुखुराको मासुको भाउ अहिलेसम्मकै महंगो भएको छ । आइतबार साँझसम्म बजारमा तयारी ब्रोइलर कुखुराको मासु प्रतिकेजी ४७० रुपैयाँ पुगेको थियो ।
कुखुरालाई खुवाउने दानाको मूल्य अचाक्ली बढेको र बर्डफ्लू लगायतका कारणले बजारमा कुखुरा अभाव हुँदा मूल्य बढेको पोल्ट्री व्यवसायी बताउँछन् । बर्डफ्लूका कारण किसानले कुखुरा नष्टद गरेको र परिणामस्वरुप बजारमा कुखुरा नपाइएको व्यवसायीको गुनासो छ ।
बर्डफ्लूको संक्रमण र दानाजन्य वस्तुको मूल्य बढ्दा कुखुराको भाउ पनि उच्च रुपमा बढेको नेपाल ह्याचरी उद्योग संघका महासचिव बलराम सन्जेलले बताए ।
‘बजारमा एक त कुखुराको आपूर्ति नै कम छ, त्यसमाथि बर्डफ्लू र दानाको मूल्य बढिरहँदा किसानले पनि कुखुरा पाल्न छाडिसकेका छन्’ उनले भने, ‘फलस्वरुप, जसको असर कुखुराको तयारी मासुमा परेको छ ।’ उनका अनुसार, अहिले नै जिउँदो ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी ३१० छ । त्यसमा ढुवानी, ३० प्रतिशत अरु खर्च र नाफा जोड्दा ४ सय भन्दा बढी मूल्य पर्ने उनको भनाई छ ।
यता, कुखुरापालक किसान भने मारमा छन् । व्यापारीले किसानको खोरबाट प्रतिकेजी साढे २ सय रुपैयाँ उठाएर बजारमा साढे ४ सय रुपैयाँसम्ममा बिक्रि गरिरहेका छन् । बिचौलिया व्यापारीले किसानबाट साढे २ सय रुपैयाँ प्रतिकेजीसम्ममा कुखुरा उठाएर बजारमा अस्वभाविक रुपमा मूल्य वृद्धि गरेका छन् ।
कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले अहिलेको कुखुराको मूल्य वृद्धि अस्वभाविक रहेको बताए । कुखुरापालक किसानको लागत उठ्न नसकिरहेको अवस्थामा बिचौलिया व्यापारी, दाना उद्योगीको मनलाग्दी मूल्यवृद्धिले उपभोक्ता पनि मारमा परेको उनको भनाई छ ।









