बागलुङका दश पालिकाको बजेट चार अर्ब ३४ करोड
काठमाडौँ, १८, जेठ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बागलुङका १० स्थानीय तहमा चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ।
जिल्लाका १० स्थानीय तहलाई संघीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटको बाँडफाँट गर्दा चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट बढेर आएको छ।
चालु आर्थिक वर्षका चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा ३ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। चालु आर्थिक वर्षमा ४७ करोड ६ लाख बजेट बढेर आएको छ। आगामी वर्षका लागि बागलुङ नगरपालिकालाई ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ।
चालु आर्थिक वर्षमा ७४ करोड ७२ लाख बजेट विनियोजन भएको थियो। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि बागलुङ नगरपालिकाको बजेट १० करोड ५३ लाख बढी बजेट विनियोजन भएको छ।
गलकोट नगरपालिकालाई आगामी आर्थिक वर्षका लागि ५१ करोड एक लाख रुपैयाँ विनियोजन भएको छ। चालु आर्थिक वर्षमा ४७ करोड ४८ लाख बजेट विनियोजन भएको थियो। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष यस पालिकामा चार करोड ३७ लाख बढेर बजेट विनियोजन भएको छ।
जैमिनी नगरपालिकामा आगामी आर्थिक वर्षका लागि ५२ करोड २४ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा ४९ करोड ५७ लाख विनियोजन भएको थियो। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि जैमिनी नगरपालिकालाई दुई करोड ६७ लाख बजेट बढेर आएको छ।
जिल्लाको ढोरपाटन नगरपालिकामा आगामी आर्थिक वर्षका लागि ३७ करोड एक लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा यस पालिकामा ३२ करोड ७० लाख विनियोजन भएको थियो जुन गत वर्षको तुलनामा चार करोड ३१ लाख रकम बढी हो।
काठेखोला गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ३९ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ। उक्त पालिकाको चालु आर्थिक वर्षमा संघीय सरकारले ४१ करोड ५८ लाख बजेट विनियोजन गरेको छ। काठेखोला गाउँपालिकाको भने आगामी आर्थिक वर्षको बजेट घटेर आएको छ। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा काठेखोला गाउँपालिकाको बजेट एक करोड ८२ लाख घटेर आएको छ।
बडिगाड गाउँपालिकालाई आगामी वर्षका लागि ४८ करोड चार लाख बजेट विनियोजन भएको छ। बडिगाडको चालु आर्थिक वर्षमा ४४ करोड ६ लाख बजेट आएको थियो। चालु आर्थिक वर्षको तुलनामा बागलुङको बडिगाड गाउँपालिकाको आगामी बजेट तीन करोड ८० लाख बजेट बढेर आएको छ।
निसीखोलामा आगामी आर्थिक वर्षमा ३३ करोड १२ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा यस पालिकामा २८ करोड ८३ लाख बजेट आएको थियो। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेटमा चार करोड २९ लाख बढी बजेट विनियोजन भएको छ।
बरेङ गाउँपालिकालाई आगामी वर्षका लागि ३० करोड पाँच लाख बजेट विनियोजन भएको छ। उक्त पालिकाको चालु आर्थिक वर्षमा २५ करोड ९८ लाख बजेट प्राप्त भएको थियो। चालुको तुलनामा आगामी वर्ष बरेङ गाउँपालिकाको बजेट चार करोड सात लाख बजेट बढी विनियोजन भएको छ।
ताराखोला गाउँपालिकालाई आगामी वर्षका लागि २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा ताराखोला गाउँपालिकालाई २४ करोड ९२ र तमान खोला गाउँपालिकालाई १७ करोड ९१ लाख बजेट विनियोजन भएको थियो। चालु आर्थिक वर्षको तुलनामा ताराखोलाको र तमानखोला गाउँपालिकाको बजेट बढेर आएको छ।
ताराखोलामा चालु बजेटको तुलनामा एक करोड ५१ लाख बजेट विनियोजन भएको छ भने तमानखोला गाउँपालिकाको बजेट तीन करोड ९९ लाख बढेर विनियोजन भएको छ। बजेटलाई हेर्दा जिल्लाको दश वटै पालिकामा आगामी आर्थिक वर्षका लागि बढेर विनियोजन भएको छ। धेरै पालिकामा आगामी वर्षका लागि चार करोड बढी बजेट विनियोजन भएको छ।









