पर्वतको मोदीका किसानलाई दूधमा अनुदान
काठमाडौँ, १९, असार । पर्वतको मोदी गाउँपालिकाले दूध उत्पादक किसानहरूलाई अनुदान वितरण गर्ने भएको छ । व्यावसायिकरूपमा गाईंभैसी पालन गरी दूध विक्री गर्दै आएका किसानहरूलाई प्रोत्साहनस्वरूप अनुदान वितरण गर्न थालिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीका अनुसार दूध उत्पादक किसानलाई प्रतिलिटरमा ३ रूपैयाँ अनुदान उपलव्ध गराइने भएको छ ।
दूध उत्पादक किसानहरूले पालिकासमक्ष अनुदानको माग गर्दै आएका थिए । किसानहरूको लगानी अनुसार दूधको मूल्य नभएको भन्दै स्थानीय सरकारले अनुदान दिनुपर्ने माग लामो समयदेखि उठेको थियो । सोही मागबमोजिम गाउँपालिकाले चालू आर्थिक वर्षदेखि दूध उत्पादक किसानका लागि अनुदान वितरण कार्यक्रम समावेश गरेको हो ।
अनुदान लिनका लागि किसानहरूले चालू आर्थिक वर्षको चैत १ गतेदेखि असारसम्म उत्पादन भएको दूधको विवरणसहित आवेदन पेश गर्न सूचना जारी गरिएको छ । किसानहरूले आवेदनसँगै संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, दूध उत्पादन लिटरको प्रमाणित विवरण, दूध उत्पादक सहकारी संस्थानको संचालकको निर्णय, सम्वन्धित वडा कार्यालयको सिफारीस र कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
यसबाट किसानहरू लाभान्वित हुने भएका छन् । आफूले विक्री गर्दै आएको मूल्यमा गाउँपालिकाले थोरै भए पनि अनुदान दिएपछि किसानहरूलाई थप हौसला प्रदान हुने र व्यावसायिक पशुपालनमा लाग्ने किसानहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिइन् ।









