स्वीस बैंकमा नेपालीको बचत ३९ अर्ब रुपैयाँ
काठमाडौँ, २१, असार । स्रोत नखुलेको, शंकास्पद वा कालोधन निक्षेपका रुपमा राख्ने बैंकको रुपमा चिनिएको स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ बचत रकम रहेको पाइएको छ । स्वीस नेशनल बैंकको वार्षिक प्रतिवेदन २०२१ अनुसार नेपालीको बचत रकम २९ करोड ८० लाख स्वीस फ्र्याङ्क(३९ अर्ब १६ करोड रुपैयाँ) रहेको देखाएको हो
बैंकको सन् २०२० को रिपोर्ट अनुसार नेपाली उक्त बैंकमा नेपालीको बचत ३६ करोड ८ लाख स्वीस प्र्यान्क (४८ अर्ब ४३ करोड) रुपैयाँ थियो ।
त्यसअघि सन् २०१९ मा उक्त बैंकमा नेपालीहरुको बचत रकम १७ करोड ५८ लाख स्वीस फ्र्यान्क रहेको थियो ।
यी तथ्यांकका आधारमा उक्त बैंकमा नेपालीहरुको बचत रकम घट्न थालेको देखिएको छ ।
नेपालमा सशस्त्र माओवादी द्वन्द्व सुरु भएपछि अर्थात् सन् १९९६ यता उक्त बैंकमा नेपालीले रकम जम्मा गर्ने क्रम बढेको देखिएको थियो ।
१९९६ देखि २०२१ सम्म नेपालीले स्वीस ब्यांकमा तीन अर्ब १८ करोड ९३ लाख स्वीस फ्र्यान्क अर्थात ४ खर्ब नेपाली रुपैयाँ राखेका थिए ।
बैंकका अनुसार उक्त बैंकमा विश्वका २ सयभन्दा बढी देशका नागरिकको बचत रहेको छ ।
स्वीस बैंकले कुन देशबाट कति रकम जम्मा गरिएको भन्ने तथ्यांक उपलब्ध गराए पनि कसले र कतिजनाले उक्त रकम जम्मा गरेका हो भन्ने तथ्यलाई गोप्य राख्ने गरेको छ । त्यसो हुँदा उक्त बैंकमा कसकसले कति रकम राखेका छन् भन्ने खेुलेको छैन ।
स्वीस बैंक कर्पोरेशनको स्थापना सन् १८५४ मा स्विट्जरल्यान्डमा भएको थियो । उक्त बैंकले विभिन्न ५० देशमा आफ्ना शाखा समेत विस्तार गरेको छ ।
उक्त बैंकमा रकम राख्ने निक्षेपकर्ताले उक्त रकम कहाँबाट ल्यायो भन्ने आयस्रोत नखोज्ने, तथ्यांकहरु गोप्य राख्ने र बचतको सुरक्षा गर्ने प्रत्याभूति दिएका कारण उक्त बैंकमा अवैध रकम बचतको रुपमा राखिएका छन् ।
बैंकले स्वीटजरल्यान्ड र युरोपियन युनियन(इयु)का देशहरुको खातावालाहरुको विवरण मागे दिनुपर्ने सम्झौता ईयूसँग सन् २०१५ मा गरेको छ ।









