image
image

दशैंको मुखैमा ह्वात्तै बढ्यो चामलको मूल्य

काठमाडौँ, ४, असोज । दशैंको मुखमै चामलको मूल्य बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् । पछिल्ला १० दिनमा जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ रुपैयाँ र बोरामा २ सय रुपैयाँसम्मले बढाइएको खुद्रा व्यापारीहरुले बताएका छन् ।
 

यस्तै, चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेकोअधिकारीहरु बताउँछन् । भदौ पहिलो साता नै चामलको मूल्य बढ्नुको कारण भारतले निर्यातमा कडाई गर्दैछ भन्ने अनुमानका आधारमा भएको बुझिन्छ ।

१० दिन पहिले १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले १९ सय ५० देखि २ हजार रुपैयाँसम्म पुर्‍याइएको संघका सहकोषध्यक्ष ध्रुब अधिकारीले बताए । ‘होलसेलमै मूल्य मनपरी भयो,’ अधिकारीले भने, ‘किलोमा ८ रुपैयाँले र बोरामा २ सय रुपैयाँले मूल्य बढ्नु अहिलेसम्मकै उच्च वृद्धि हो ।’

भारतको नयाँ निर्णयले चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ । ‘भारतले निर्यातमा प्रतिवन्ध लगाएको होइन, उसले निर्यातमा २० प्रतिशत कर बढाएको मात्रै हो, अब नेपालमा पनि चामलको मूल्य २० प्रतिशतले बढ्छ । भदौ महिनामा बढेको चामलको मूल्य खास कारण नभई स्वभाविक मूल्य बृद्धि भएको  हो । 

भारतको कर वृद्धिले मूल्य बढेको भन्ने व्यवपारीको तर्कलाई भन्सारका विवरणहरुले भने पुष्टि गर्दैन । धान चामल धेरै आयात हुने भन्सार कार्यालयहरुका अनुसार गत २३ भदौमा भारतले धान चामल निर्यातमा कर वृद्धि गरेपछि यस्ता वस्तुको आयात घटेको छ । केही भन्सारबाट आयात न्यून मात्रामा भए पनि केहीमा शून्य नै छ ।

कपिलवस्तुको कृष्णनगर भन्सारबाट कर वृद्धि पछि धान चामल आयात नै नभएको भन्सारका निमित्त प्रमुख ठाकुर गौतमले बताए । यता रुपन्देहीको भैरहवा भन्सारबाट पनि चामलको आयात अत्यन्तै कम भएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालकाअनुसार भन्सार वृद्धि पछि धान–चामल आयात निकै कम भएको छ । भन्सार प्रमुख ढकालले भने, ‘आयात ठप्पै छैन । तर आयातको आकार अत्यन्तै कम छ ।’

भारतले अघिल्लो साता सम्भावित खाद्य संकटलाई लक्षित गर्दै धान चामल निर्यातमा कडाइ गरेको थियो । कनिकाको निर्यातमा पूर्ण रोक लगाएसँगै उसले धान चामल निर्यातमा २० प्रतिशत भन्सार महशुल वृद्धि गरेको थियो ।

तर, भन्सार बढे लगत्तै नेपाल भित्रिसकेको पुरानो चामलमा व्यापारीले करलाई देखाएर मूल्य बढाए पनि सरकारी निकाय भने मौन रहेको उपभोक्ताकर्मीहरु बताउँछन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन सरकारको अकर्मण्यताका कारण उपभोक्ता लुटिएको बताउँछन् । ‘भन्सार र वाणिज्यले सजिलै थाहापाउने हुँदा हुँदै पनि व्यापारीले मनपरी मूल्य बढाउनु उपभोक्तामाथिको सरकार संरक्षित लुट हो’ महर्जन भने ।

अर्का उपभोक्ता अधिकारकर्मी माधब तिमल्सिना सरकारको उपस्थिति बजारमा नदेखिएको बताउँछन् । विनाकारण चाडपर्वको मुखैमा उपभोक्तालाई बोरामै २ सय रुपैयाँसम्म चामलमा मूल्य वृद्धि गरिनु गलत भएको उनी बताउँछन् ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । जसमा २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका थियो ।

बजार अनुगमनको केन्द्रीय निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने यसबारे गुनासो आएको बताएको छ । बजारमा यस्तो मूल्य वृद्धिबारे अनुसन्धान गरिरहेको भन्दै विभागका सूचना अधिकारी होमनाथ भट्टराईले अवान्छित गतिविधि नियन्त्रण गरेरै छाड्ने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।