image
image

तिहारमा भाइ मसलाको भाउ छोइनसक्नु, कुनको मूल्य कति ?

काठमाडौँ, २८, असोज । नेपालीहरूको महान् चाड तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने विशेष मसला परिकारको निकै खपत हुन्छ । प्रायः सबै भारतबाटै आयात गरिने यस्ता भाइ मसलाको भाउ यस वर्ष पनि पोहोर सालको जस्तै रहेको छ कुनै सामान महंगिएको छ भने कुनै समान सस्तिएको छ । 

काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा भएका पसलहरूमा यस्ता वस्तुहरूको व्यापार सुरु भएको किराना व्यवसायी तथा खुद्रा व्यापार सङ्घले जनाएको छ । सामान्य अवस्थामा भन्दा तिहारको समयमा भाइ मसलासँग सम्बन्धित वस्तुहरूको व्यापार ५० प्रतिशतले धेरै हुने सङ्घको भनाइ छ ।

विगतमा कोरोना महामारीलगायतको अवस्थाबाट गुज्रिएको बजार अहिले सामान्य बनेको छ । जस कारण गत वर्षजस्तै यो वर्ष पनि यी वस्तुहरूको बिक्रीविरतण बढ्ने अनुमान गरिएको छ । तिहार नजिकिदैं जाँदा बजारमा भाइ मसालाका विभिन्न सामग्रीहरूको प्याकिङ भएर बिक्री वितरण सुरु भएको व्यावसायीहरु बताउँछन् ।

तिहारमा सबैभन्दा बढी मसलाको रूपमा प्रयोग हुने काजु, आल्मोन्ड, पिस्ता, किसमिस, नरिवल, छोकडा, सुपारी, ओखर, मखना र मिस्री हो । यो वर्ष यीमध्ये धेरैजसो मसालाहरूको मूल्य गत वर्षकै जस्तो छ । किराना व्यवसायी तथा खुद्रा व्यापार सङ्घका महासचिव तुलाधारकाअनुसार यो वर्षको गत वर्षको तिहारमा कायम भएको मूल्यमा केही वस्तुको मूल्य बढेको छ केही वस्तुको मूल्य घटेको छ । तर, खासै मूल्यमा धेरै भिन्नता भने देखिएको छैन ।

गत वर्षको तुलनामा यो वर्ष काजु, पिस्ता, छोकडाजस्ता वस्तुहरूको मूल्य बढेको छ भने आल्मोन्ड (बदाम), मखना, अञ्जीर, सुकुमेलजस्ता वस्तुहरूको मूल्यमा केही गिरावट देखिएको छ । सँगै नरिवल, खुर्पानीजस्ता वस्तुहरूको मूल्य स्थिर जस्तै छ ।

कुन वस्तुको मूल्य कति?

यो वर्ष मूल्य बढेका भाइ मसालाका सामग्रीहरूमा पिस्ता र छोकडा मुख्य रहेका छन् । उनकाअनुसार यो वर्ष खुद्रा बिक्री हुँदा पिस्ताको मूल्य प्रतिकेजी २१ सय वा सोभन्दा माथि रहेको छ । गत वर्ष प्रतिकेजी पिस्ताको मूल्य १७ सयदेखि १८ सयसम्म रहेको थियो ।

त्यस्तै, छोकडाको मूल्यमा पनि यो वर्ष वृद्धि देखिएको छ । उनकाअनुसार यो वर्ष प्रतिकेजी छोकडाको मूल्य ४ सय रुपैयाँ रहेको छ । गत वर्ष छोकडा प्रतिकेजी २४० देखि २६० रुपैयाँमा बिक्री भएको थियो ।

त्यस्तै, सुकुमेलमा यो वर्षको मूल्य गत वर्षको भन्दा निकै कम देखिएको छ । गत वर्ष ४२ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको सुकुमेल यो वर्ष ३ हजार रुपैयाँ आसपासमा बिक्री भइरहेको छ ।

त्यस्तै, गत वर्ष १३ सयदेखि १४ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको आल्मोन्ड (बदाम) यो वर्ष ११ सयदेखि १३ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको सङ्घले जनाएको छ ।

मखनमा पनि यो वर्ष मूल्य घटेको छ । गत वर्ष १२ सय रुपैयाँ प्रतिकेजी बिक्री भएको मखनको यो वर्षको खुद्रा बजारको मूल्य प्रतिकेजी १ हजार रहेको छ ।

यी बाहेक किसमिस, काजु, खुर्पानी, अञ्जीर जस्ता वस्तुहरूको मूल्य स्थिर छ । यी वस्तुहरू गत वर्ष जुन मूल्यमा बिक्री भएका थिए, यो वर्ष पनि खुद्रामा सोही मूल्यमा बिक्री भइरहेको सङ्घले जनाएको छ ।

कहाँबाट आयात हुन्छ ?

तिहारको लागि चाहिने मसला नेपालमा केही प्रकारका मात्रै उत्पादन हुने गर्दछ । तर, उक्त उत्पादन भएको ड्राइ फ्रुट्ले नेपाली बजारमा धान्न सक्दैन । त्यसैले अधिकांश ड्राइ फ्रुट्स विदेशबाट आयात हुने गर्दछ । त्यस्तै, मखना र ओखर बढी जसो चीनबाट आयात हुने गरेको छ । आलमण्ड (हाडे बदाम) भारत, अमेरिका र अस्ट्रेलियालगायतका देशबाट आयात गर्दछ ।

त्यसै गरी, अन्य देशहरू अफगानिस्तान, भियतनाम, कतार, थाइल्यान्ड, अमेरिकालगायत अन्य मुलुकबाट विभिन्न प्रकारका ड्राई फ्रुट्स अर्थात् भाइ मसला आयात हुने गर्दछ । तर, आयात भई तिहारको समयावधिमा बिक्री हुने भाइ मसलाको भने हालसम्म सङ्घसँग यकिन तथ्याङ्क नभएको सङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।