image
image

कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न

काठमाडौँ २८ फागुन । कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ ।सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पुर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए। उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राखिन्छ । पुनःनिर्माणपछिको शुरुआती चरणमा एक लाख लिटर पानी भर्ने योजना छ ।

एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् ।

वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ । त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ । कामपाले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्सङ्ग रहेको स्थानलाई खुला गरिसकेको छ ।
 
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौँ । उहाँले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरे। कामपाले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो । त्यसका लागि रु छ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोहीअनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताए। त्यस्तै कमलापोखरी पुनःनिर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलिन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमी आलोक तुलाधारले धारणा राखे ।  

आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमिन फिर्ता ल्याउने विषयमा कामपालाई पटक–पटक लिखितरूपमा ध्यानाकर्षण गराउँदासम्म सुनुवाइ नगरेकाले थप कानूनी प्रक्रिया अघि बढाउने तुलाधरको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।