image
image

बीमालेख धितो राखी बीमितले लिए साढे ७३ अर्ब बढी कर्जा, कुन कम्पनीबाट कति ?

काठमाडौँ, ९, मंसिर । जीवन बीमा कम्पनीले बीमालेख धितो राखेर बीमितलाई दिने कर्जा ३५.६० प्रतिशतले बढेको छ ।

१९ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ७३ अर्ब ५२ करोड ४० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १९ अर्ब ३० करोड ३४ लाख रुपैयाँ बढी हो । गतआवको सोही अवधिमा ५४ अर्ब २२ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ ।

बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्छन् ।

बीमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झनझट मुक्त समेत मानिन्छ ।

जस कारणले गर्दा बीमालेख धितो राखी कर्जा लिने बीमितको संख्या बढ्दै गएको देखिन्छ ।

कुन कम्पनीबाट कति ?

प्रथम त्रैमासको अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बीमितले आफ्नो बीमालेख धितोमा राखि २६ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लिएका छन् । गत आवको तुलनामा जुन २९.२४ प्रतिशतले बढी हो ।

गत आवको असोज मसान्तसम्मको अवधिमा कम्पनीले बीमालेख धितोमा राखि २० अर्ब ५७ करोड रुपैयाँ कर्जा दिएको थियो ।

नेपाल लाइफका बीमित पछि एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी १९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लिएका छन् ।

नेशनल लाइफका बीमितले बीमालेख धितो राखी ८ अर्ब ९७ करोड, एशियन लाइफका बीमितले ४ अर्ब २५ करोड रुपैयाँ कर्जा लिएका छन् ।

प्राइम लाइफका बीमितले २ अर्ब ३२ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले २ अर्ब १ करोड, सूर्या लाइफका बीमितले २ अर्ब ७ करोड, मेट लाइफका बीमितले १ अर्ब ३१ करोड, गुराँस लाइफका बीमितले १ अर्ब १९ करोड, यूनियन लाइफका बीमितले १ अर्ब १७ करोड रुपैयाँ कर्जा लिएका छन् ।

अन्य कम्पनीले भने अर्ब भन्दा कम कर्जा प्रवाह गरेका छन् । सिटिजन लाइफले बीमालेख धितोमा राखी ३७ करोड ७४ लाख, रिलायबल नेपाल लाइफले १८ करोड १४ लाख, ज्योति लाइफले ९२ करोड २३ लाख, रिलायन्स लाइफले ५६ करोड ६१ लाख, आइएमई लाइफले ४२ करोड ७३ लाख रुपैयाँ र सन नेपाल लाइफले ३९ करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यस्तै, पहिलो त्रैमासको अवधिमा बीमितहरुले सानिमा लाइफबाट २३ करोड ९१ लाख, प्रभु लाइफबाट ४७ करोड २७ लाख र महालक्ष्मी लाइफबाट २३ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका छन् ।

कति तिर्नुपर्छ ब्याज ?

जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ बमोजिम बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

प्राधिकरणले नयाँ निर्देशिका जारी गर्दै बीमालेख धितो राखी प्रदान गर्ने कर्जामा कडाइ गरेको थियो । यस अघि बीमितिले दुई किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था थियो ।

निर्देशिका अनुसार बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ ।

साथै, एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

बीमा कम्पनीहरुले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ब्याज लिन पाउने व्यवस्था प्राधिकरणद्धारा जारी निर्देशिकाले व्यवस्था गरेको छ ।

ब्याजदरको निर्धारण गर्दा भने बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको बयाजदर भन्दा बढी नहुने गरी बीमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

‘बीमकले बीमालेख धितो राखी कर्जा प्रदान गर्दा ब्याज लिन सक्नेछ र ब्याजदरको निर्धारण गर्दा बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदर भन्दा बढी नहुने गरी बीमकको सञ्चालक समितिको स्वीकृत लिई निर्धारण गर्नुपर्ने छ,’ निर्देशिका भनिएको छ ।

जीवन बीमा कम्पनीहरुको छाता संगठन जीवन बीमक संघले बीमालेख धितोमा कर्जा प्रवाह गर्दा १२ प्रतिशतसम्म ब्याज लिन सक्ने निर्णय गरेसँगै कम्पनीहरुले हालको वार्षिक ब्याजदरलाई परिमार्जन गरेका छन् ।

केही कम्पनीहरुले गरी १२ प्रतिशतसम्म पुर्याएका छन् भने केही कम्पनीहरुले ११ प्रतिशत ब्याजदर मै कर्जा प्रवाह गरेका छन् । यसअघि बीमालेख धितोमा राखी कम्पनीहरुले १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।