सामलिङ पावरको शेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण
काठमाडौँ, २३, मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामलिङ पावर कम्पनीमाथि कारबाही गर्दै शेयर कारोबार रोक्का गरेको छ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै सामलिङ पावरको शे यर कारोबार रोक्का गरेको हो । स्पष्टीकरण पेस गर्न नेप्सेले ३ कार्यदिनको समय दिएको छ।
सामलिङ पावरको गत मंसिर २१ गते बिहान ९ः३० बजेको सञ्चालक समितिले आर्थिक वर्ष २०७८–७९ का लागि शेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो। यो निर्णयबारे कम्पनीले दिउँसो ३ः४२ बजे नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो।
नेप्सेले विनियमावलीविपरीत सामलिङ पावरले धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराएको ठहर गरेको छ। नेप्सेले के–कति कारणले नेप्सेमा समयमै जानकारी नगराएको सम्बन्धमा कम्पनीसँग चित्तबुझ्दो स्पष्टीकरण माग गरेको छ।









