image
image

विदेश अध्ययनका लागि ४ महिनामा साढे २२ अर्ब बढी बाहिरियो

 काठमाडौँ, ७, पुस । नेपाल राष्ट्र बैंकले उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीमार्फत नेपालबाट बाहिरिने रकम नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ  । कोभिड–१९ महामारीपछि विदेशमा अध्ययनका लागि जानेको संख्या अत्यधिक बढेकाले विद्यार्थीमार्फत ठूलो रकम बाहिरिरहेको भन्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । आयात कम गर्न सरकार र राष्ट्र बैंकद्वारा अवलम्बन गरिएका नीतिगत व्यवस्थाले पछिल्ला महिनाहरूमा अर्थतन्त्रका बाह्य सूचकहरूमा क्रमिक सुधार आउन थालेको छ ।

पछिल्ला महिनाहरूमा अर्थतन्त्रको अवस्थाबारे हुने गरेका सबै छलफलमा विदेशमा अध्ययनका लागि ठूलो रकम बाहिरिने गरेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषयले प्राथमिकता पाउन थालेको पनि छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विदेशमा अध्ययन शीर्षकमा २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको यही अवधिको तुलनामा यो रकम १११ प्रतिशतले बढी हो । गत आवको साउनदेखि कात्तिकसम्म यो शीर्षकमा १० अर्ब ७० करोड रुपैयाँ मात्रै बाहिरिएको थियो । योबाहेक विदेशी सम्बन्धन प्राप्त कलेजहरूले हुन्डीलगायत अनौपचारिक माध्यममार्फत पनि विदेशमा पैसा पठाउने गरेका छन् । जसको तथ्यांक राष्ट्र बैंकसँगै छैन ।

पछिल्ला महिनाहरूमा उच्च शिक्षाका लागि नेपालबाट विदेशी मुद्रा बाहिरिने क्रम चुनौतीका रूपमा देखिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताउनुभयो । त्यसलाई रोक्न पहिलो चरणमा विदेशी सम्बन्धन प्राप्त नेपाली शैक्षिक संस्थामार्फत बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ । एकै पटक विदेशमा अध्ययन गर्ने नेपालीको खर्च नियन्त्रण गर्न नसकिने भएकाले सुरुमा विदेशी सम्बन्धन प्राप्त नेपाली शैक्षिक संस्थामार्फत बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो ।

विदेशी सम्बन्धनका शैक्षिक संस्थामार्फत ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिन थालेपछि त्यसतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण भएको जानकारी शिक्षा मन्त्रालयलाई गराइएको पनि उहाँले बताउनुभयो । विदेशमा अध्ययनका लागि कडाइ गर्ने÷नगर्ने विषयको छलफल नीति निर्माताका लागि नयाँ भने होइन । केही वर्ष अघिदेखि नै यस्ता छलफल हुँदै आए पनि अझै कुनै निर्णय हुन सकेको छैन । एकै पटक बन्द नै गर्नुको साटो बिस्तारै निजी खर्चमा विदेश पढ्न जाने प्रवृत्ति नियन्त्रण गर्दै जाने विषयमा सोच्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।