५ महिनामा १२ करोडको मरिच आयात
काठमाडौँ, १०, पुस । चालू आर्थिक वर्ष २०७९/८० को ५ महिनाको अवधिमा विदेशबाट १२ करोड रूपैयाँ बराबरको मरिच आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १२ करोड २ लाख रूपैयाँ बराबरको मरिच आयात भएको हो ।
यस अवधिमा २ लाख ४५ हजार किलोग्राम मरिच आयात गर्दा आयातकर्ताले २ करोड ५० लाख रूपैयाँ बराबरको भन्सार राजश्व तिरेका छन् । नेपालमा विश्वका ३ वटा देशबाट मरिच आयात हुने गरेको छ । तीमध्ये भियतनामबाट सबैभन्दा धेरै मरिच आयात भएको भन्सार विभागले जनाएको छ ।
भियतनामबाट ५ महिनाको अवधिमा ८ करोड ५० लाख ९२ हजार रूपैयाँ बराबरको मरिच भित्रिएको छ । यस्तै, इण्डोनेसियाबाट १ करोड ९७ लाख रूपैयाँ बराबरको मरिच भित्रिएको छ भने भारतबाट १ करोड ५४ लाखको मरिच आयात भएको छ ।









