नेपालले पाँच महिनामा बेच्यो ७ अर्ब ५६ करोडको बिजुली
काठमाडौँ, २, माघ । नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँबराबरको विद्युत् बेचेको छ । विद्युत्को व्यापार वस्तु व्यापारअन्तर्गत नपर्ने भएकाले भन्सार विभागले यसको तथ्यांक राख्ने गरेको छैन ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु वर्षको ५ महिनाको अवधिमा विद्युत्को व्यापारमा नेपालले ६ अर्ब ८ करोड बचत गरेको छ । आयात निर्यातको अनुपातमा सबैभन्दा बढी बचत विद्युत् व्यापारबाट भएको छ ।
यो अवधिमा नेपालले १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँबराबरको विद्युत्को आयात भएको छ । गत जेठ महिनादेखि नेपालले भारतको प्रतिस्पर्धी बिजुली बजार पाएको थियो ।
गत पुस महिनादेखि नेपालले निर्यात बन्द गरेर आयात मात्रै गरेको छ । तर, पछिल्ला दिनमा भारतबाट कम मात्र बिजुली आयात भए पनि नेपालको औद्योगिक क्षेत्रमा अहिले पनि दैनिक ९ घण्टासम्म लोडसेडिङ छ ।
जेठ महिनासम्म विद्युत्को आयात मात्रै हुने भए पनि चालु वर्षमा विद्युत्को व्यापारबाट बचतमा रहने प्रक्षेपण गरेको छ । त्यस्तै, नेपालले चालु वर्षको पाँच महिनामा ७ अर्ब ३४ करोड ५१ लाख रुपैयाँको हवाई इन्धन निर्यात गरेको छ ।









