image
image

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

काठमाडौँ, १५, माघ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका  किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका छन्। सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९ मा बिक्री भइरहेको सुन्तला उनले बताए । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार रु ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ”, उनले भने, “यसबाट हालसम्म करिब रु ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु ।”

सुन्तला टिप्नेक्रम जारी रहेको र अझै रु तीन लाख जतिको सुन्तला बोटमै रहेको उनले बताए । गतवर्ष यही समय (माघको दोस्रो सात) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो । गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उनले बताए ।

“गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन”, उनले भने, “केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो ।” उनले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गरेका थिए । जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै रु सात लाख नोक्सान भएको उनी  बताउछन् ।

“हालसम्म सुन्तला बिक्रीबाट रु ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ”, उनले भने, “शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै रु ५५ लाख आसपास पुग्थ्यो ।”

विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ  । “बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ”, किसान मुक्तिले भने, “अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ ।”

 चौध वर्ष कोरियामा रोजगारी गरेका उनले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिएका छन् । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका उनको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् । उनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।