सुपरमाई हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुने
काठमाडौँ, ५, फागुन ।सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आज (शुक्रबार) बिहान १० बाँडफाँड हुने भएको छ । आज आइपीओ बाँडफाँड बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा हुने भएको हो ।
सिडीएसका अनुसार कम्पनीको आईपीओमा अन्तिम सम्ममा १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ४१ हजार ५०० जनाले मात्रै सेयर पाउनेछन् ।
कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।









