image
image

पर्वतबाट ३० करोड मूल्य बराबरको सुन्तला निर्यात

काठमाडौँ, ८, फागुन । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सोमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ ।

गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन् । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो । 

निर्यात भएका चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रु २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औषतमा रु ७० को दरले सुन्तला निर्यात भएका छन् । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौँ, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन्। 

जिल्लामा अहिले आठ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । सो मध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन सुरु हुनेछ । उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ । 

गत आर्थिक वर्ष ०७८/७९ मा पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् । 

यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरुले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । 

“किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो ।” उको भनाइ छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला र मोदी, महाशिला र पैँयु  गाउँपालिकाका तथा फलेवास नगरपालिकाका विभिन्न वडालाई जोन र ब्लकको रुपमा विकास गरिएको छ । जिल्लामा सबैभन्दा बढी जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट झण्डै रु आठ करोडको सुन्तला निर्यात भएको छ । 

त्यसैगरी लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैँयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । 

 जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ । अन्य वस्तुको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारीकरणमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।