मलेसियामा ‘ओटी’ले कामदारहरुमा मानसिक समस्या बढ्दो
काठमाडौँ, ११, फागुन । आप्रवासी कामदारहरुको वृद्धिसँगै मलेसिया तथा दक्षिण कोरियमा उनीहरुको मानसिक स्वास्थ्य समस्या बढेको पाइएको छ । दक्षिण कोरियामा मानसिक अस्वस्थताका कारणले नेपाली कामदारहरुको आत्महत्या दर पहिलेदेखि अनपेक्षितरुपमा बढी देखिएको अवस्थामा मलेसियामा पनि आप्रवासी कामदारमा मानसिक समस्या बढेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मलेसियामा कामदारको अभावका कारण कम्पनीमा कार्यरत कामदारहरुले अतिरिक्त समय ( ओटी ) काम गर्नुपरेको र कतिपय अवस्थामा शारीरिकरुपमा थकित हुँदा पनि बिदा नपाएको गुनासो बढेको छ । त्यसले कामदारमा मानसिक समस्या बढाएको छ ।
मलेसियामा आप्रवासी कामदारको मानसिक समस्या गुनासोको तहमा रहेपनि स्थानीय कामदारहरुले मानसिक स्वास्थ्य समस्याको समाधान नभएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
मलेसियाको वर्तमान सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी डा. जालिहा मुस्तफा आफैं पनि चिकित्सक हुन् । कामदारहरुले आन्दोलनको धम्की दिएपछि एकपटक भेटघाट र छलफलमा आउन उनले आग्रह गरेकी छन् । उनले जनशक्तिको अभाव, निरन्तररुपमा काम गर्नुपर्ने बाध्यता र उपयुक्त तलबको अभावमा मानसिक तनाव हुनु स्वभाविक भएपनि हडतालमा उत्रनु आवश्यक नभएको बताएकी छन् ।
उता कोरियामा भाषागत समस्या, कम्पनीमा कामको चापका कारण अस्पताल जान नपाउने, अस्पताल गइहाले पनि भाषाका कारण स्वास्थ्य उपचारमा समस्या हुने लगायतका कारणले नेपाली कामदारहरुको मानसिक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।
तनाव कम गर्न नेपालीका स्थानीय संघसंस्था र नेपाली दूतावासबाट उत्प्रेरणात्मक योग शिविर, तनाव व्यवस्थापन र खुशी कला सञ्चालन गर्ने गरिएको छ । जीवनमा खुशी प्राप्त गर्न तनाव व्यवस्थापनका लागि हास्ययोग अपनाउने गरिएको पनि बताइएको छ ।
वैदेशिक रोजगारमा रहेका कामदारहरुमा परिवार तथा रोजगारदाताका कारणले गर्दा मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्ने एवं सुतेकै ठाउँमा मृत्यु हुनेजस्ता अनेकौं खालका समास्याहरु देखिने गरेका छन् ।
कोरियामा रहेका नेपालीहरुलाई निःशुल्करुपमा मानसिक स्वास्थ्य परामर्श दिँदै आएका कोरियाको थेगुस्थित केम्युंग युनिभर्सिटी दोंग्सान अस्पतालमा कार्यरत नेपाली चिकित्सक डा. राजेशचन्द्र जोशीले उक्त मुलुकमा भाषाको समस्याका कारण कामदार उपयुुक्त मानसिक स्वास्थ्य सेवा लिन असमर्थ हुने गरेको बताएका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२ मा वैदेशिक रोजगारमा जानुअघि कामदारको स्वास्थ्य परीक्षणको व्यवस्था भएपनि त्यसमा मानसिक स्वास्थ्य परीक्षणको व्यवस्था समावेश गरिएको छैन । आप्रवासी कामदारको पक्षमा कार्यरत गैरसरकारी संस्थाहरुले मानसिक स्वास्थ्यको विषय पछिल्ला दिनमा गम्भीररुपमा अगाडि आएकोे भन्दै स्वास्थ्य परीक्षणको सूचीमा त्यसलाई पनि अनिवार्यरुपमा समावेश गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।









