महङ्गी बढ्यो, उपत्यकामा सबैभन्दा बढि
काठमाडौँ, २८, फागुन । चालु आर्थिक बर्षको माघ महिनामा मुलुकमा मुल्यवृद्धि ७.८८ प्रतिशत पुगेको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत पुगेको हो । अघिल्लो बर्षको सोहि महिनामा यस्तो मूल्यवृद्धि (मुद्रास्फीति) ६.२४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । उपत्यकामा मूल्यवृद्धि ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुल्यवृद्धि रहेको राष्ट्र बैंकको तथ्याङ्कले जनाएको छ ।
अघिल्लो बर्षको सोहि महिनामा यी क्षेत्रहरुमा यस्तो मूल्यवृद्धि क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
यो अवधिसम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६.१९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।
त्यस्तै, रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।
थोक मुद्रास्फीति
वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.३४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १४.०२ प्रतिशत र ५.४४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेको छ ।
तलव तथा ज्यालादर
माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.२७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ५.७२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ९.६४ प्रतिशतले बढेको छ ।









