image
image

धितोपत्र बजार पुँजीकरण २६ खर्ब भन्दा बढी

काठमाडौँ, २८, जेष्ठ । चालु आर्थिक वर्षको वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड रुपियाँ रहेको थियो ।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार प्रकाशित गरेको चालु आव २०७९/८० को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०८० वैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २५३ पुगेको छ ।

सूचीकृत कम्पनीमध्ये १४३ बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ७२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, छ होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७९ वैशाखमा सूचीकृत कम्पनीको सङ्ख्या २२९ रहेको थियो ।

२०७९ वैशाख मसान्तमा २३५०.४३ रहेको नेप्से सूचकाङ्क २०८० वैशाख मसान्तमा १८२१.६५ कायम भएको थियो । सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६४.३ प्रतिशत रहेको छ ।

त्यसै गरी जलविद्युत् कम्पनीको हिस्सा १३.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० वैशाख मसान्तमा सूचीकृत सात अर्ब २४ करोड सेयरको चुक्ता मूल्य सात खर्ब १३ अर्ब ८७ करोड रुपियाँ रहेको छ । आव २०७९/८० को १० महिनामा एक खर्ब ६६ अर्ब ४१ करोड रुपियाँ बराबरको साधारण सेयर, ४५ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र, 

२९ अर्ब १९ करोड रुपियाँ बराबरको डिबेन्चर, ३४ अर्ब ८१ करोड रुपियाँ बराबरको बोनस सेयर, पाँच अर्ब ४९ करोड बराबरको म्युचुअल फन्ड र चार अर्ब १३ करोड रुपियाँ बराबरको हकप्रद सेयर गरी कुल दुई खर्ब ८५ अर्ब तीन करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड रुपियाँ बराबरको डिबेन्चर, १३ अर्ब ३५ करोड रुपियाँ बराबरको म्युचुअल फन्ड, १० अर्ब एक करोड रुपियाँ बराबरको साधारण सेयर र दुई अर्ब १५ करोड रुपियाँ बराबरको हकप्रद सेयर गरी कुल ३७ अर्ब १२ करोड रुपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।