१० वर्षयताकै न्यून विन्दुमा झर्यो भारतीय बैंकहरुको खराब कर्जा
काठमाडौँ, १४, असार । भारतीय बैंकहरुको खराब कर्जा एक दशकयताकै न्यून विन्दुमा झरेको छ । भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ ले सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदन अनुसार बैंकहरुको खराब कर्जा अनुपात मार्च महिनामा ३.९% मा सीमित भएको छ । जुन विगत १० वर्षयताकै न्यून भएको भारतीय सञ्चार माध्यम इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
कर्जा जोखिमको लागि गरिएको तनाव परीक्षणहरुले भारतीय कमर्सियल बैंकहरु राम्रोसँग पुँजीकृत रहेको र प्रतिकूल तनावको अवस्थामा पनि न्यूनतम पुँजी आवश्यकताहरु पूरा गर्न सबै बैंकहरु सक्षम रहेको आरबीआईले जनाएको छ । मार्च २०१८ मा भारतीय बैंकहरुको कुल र खुद खराब कर्जा अनुपात क्रमशः ११.५% र ६.१% को उच्च विन्दुमा पुगेको थियो । जुन सन् २०२३ मार्चमा घटेर क्रमशः ३.९% र १% मा आएको हो ।
यता, केही गैर–बैंकिङ वित्तीय मध्यस्तकर्ताहरुले भने उच्च लेभरेज लिएका कारण प्रणालीगत चिन्ताहरु कायम राखेको आरबीआईले उल्लेख गरेको छ । सन् २०२३ मार्च महिनाको सुरुवातदेखि नै अमेरिका र युरोपमा बैंकिङ संकटले गर्दा विश्वव्यापी वित्तीय प्रणालीमा तनाव उत्पन्न भएको छ ।
यद्दपि, यसको विपरित भारतको वित्तीय क्षेत्र भने स्थिर र लचिलो देखिएको छ । जसलाई बैंकहरुको ऋणमा भएको दिगो वृद्धि, खराब कर्जाको न्यून अनुपात र पर्याप्त पुँजी तथा तरलता बफरहरुले प्रतिबिम्बित गरेको आरबीआईको भनाई छ ।









