image
image

वडाको सक्रियतामा वाग्मती सफाइ

काठमाडौँ २१ चैत: हप्ताको दुई घण्टा ‘राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ शुरु भएको वाग्मती सफाइ महाअभियानमा वडा र टोल सुधार समितिको सक्रियता बढ्न थालेको छ ।

वाग्मती सफाइ महाअभियानको ४१२ औँ हप्तामा आज काठमाडौँ महानगरपालिका–११ स्थित रुद्रमती दोभानमा सफाइ गरिएको छ । वडा कार्यालयसमेतको सक्रियतामा विगत तीन हप्तादेखि वाग्मती र रुद्रमती दोभान क्षेत्रमा सफाइ भइरहेको छ । सफाइमा वडाका जनप्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र स्थानीयवासीकोसमेत सहभागिता थियो ।

यसअघि नै वडाध्यक्ष हीरालाल तण्डुकार र वाग्मती सफाइ महाअभियानबीच वडा नं ११ को नदी किनारको सफाइ नेतृत्व वडा कार्यालयले नै गर्ने सहमति भएको थियो । सहमतिअनुसार वडा कार्यालयको नेतृत्वमा सफाइ शुरु भएको महाअभियानले जनाएको छ ।

यस क्षेत्रको नदीमा एस्काभेटरसमेत प्रयोग गरेर सफाइ गरिएको अघिका सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले राससलाई जानकारी दिए । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको पनि सक्रियता थियो ।
सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौड्याल, नेपालका लागि युरोपियन युनियनका राजदूत श्रीमती भेरोनिका कोडे, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख रवीन्द्र बोहरालगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

विष्णुमती माथिल्लो भेग सफाइको ३१ औँ हप्ता खानेपानी मुहान क्षेत्रमा सफाइ गरिएको संयोजक रामकुमार श्रेष्ठले बताए । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्पको त्रास, कोरोनाको डरजस्ता प्रतिकूल अवस्थामा पनि निरन्तर जारी रहेको छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीहरु रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ भइरहेको छ । उपत्यकामा चक्रपथको उत्तर र पश्चिमी खण्ड सफाइलेसमेत निरन्तरता पाएको छ । वाग्मतीको गुह्येश्वरीमाथिको खण्ड, तिलगङ्गा, सुन्दरीघाट जस्ता क्षेत्रमा पनि सफाइ अभियान जारी छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिर प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ ।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।