हाइड्रोपावरमा सबैभन्दा उच्च वृद्धि
काठमाडौँ । यो साताको सेयर बजारमा पहिलो दिन नै ६ प्रतिशत बढ्दा सर्किट ब्रेक लागेर कारोबार बन्द भयो । त्यसपछिका दिनमा सामान्यः उतारचढाव देखिए पनि बजारले ठूलो ‘करेक्सन’ लिएको छैन ।
आइतबार नै १११ अंक बढेपछि सोमबार १५ अंक घटेको बजार मंगलबार नै ३७ अंक बढ्यो । बुधबार ३ र बिहीबार ६ अंक बढेपछि यो साता १९९४ विन्दुमा सेयर बजार बन्द भएको छ, गत साता १८५२ विन्दुमा थियो ।
समग्रमा यो साता बजार ७.६ प्रतिशत अर्थात् १४२ अंक बढेको छ । सेयर बजारको अंक मात्रै होइन, कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम दुई गुणाभन्दा धेरै बढेको छ । गत साता ५ दिन खुलेको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यो साता पनि ५ दिन नै कारोबार हुँदा १६ अर्ब ६७ करोडको कारोबार भयो ।
आइतबार ९ मिनेटमा ४८ करोड रुपैयाँको कारोबार भएको थियो । सोमबार ४ अर्ब ८४ करोड, मंगलबार ४ अर्ब ३० करोड, बुधबार ३ अर्ब ९० करोड र बिहीबार ३ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कुन क्षेत्रका सूचक कति बढे ?
गत साता समग्र बजार घट्दा पनि निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.४१ प्रतिशतले बढेको थियो । यो साता भने जलविद्युत् समूह सबैभन्दा धेरै ११. ८७ प्रतिशतले बढेको छ । हाइड्रोपावर निकै तल्लो विन्दुमा झरेपछि गत साता उल्लेख्य वृद्धि देखिएको छ । हाइड्रोपावर समूह अन्य समूहको तुलनामा सुरक्षित पनि मानिन्छ ।
‘बैंकिङमा कर्जा नउठ्ने जोखिम देखिएको छ, पूँजीकरणका आधारमा बैंकिङपछि ठूलो समूह हाइड्रोपावर हो,’ लगानीकर्ता पिताम्बर खकुरेलले भने, ‘हाइड्रोपावरमा आयोजनाबाट विद्युत् नियमित उत्पादन भइरहन्छ, न आम्दानीको समस्या, न पैसा नउठ्ने समस्या ।’ त्यस्तै माइक्रोफाइनान्स समूहमा पनि यो साता उत्साह देखिएको छ । यो समूह ८.६९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुको बैंकिङ समूहको सूचक भने जम्मा ५ प्रतिशत मात्रै बढ्यो ।









