सुर्तीजन्य पदार्थमा कर बढाउन एक्सन नेपालको माग
काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले कानुन विपरीत काम गरेको भन्दै एक्सन नेपालले ध्यानाकर्षण गरेको छ। एक्सन नेपालले संघले जारी गरेको विज्ञप्ति कानुन विपरीत र भ्रामक रहेको भन्दै आपत्ति जनाएको हो ।
एक्सन नेपालले भ्रमपूर्ण सन्देश फैलाउने चुरोट उद्योग र चुरोट उद्योगले दिएको भ्रमपूर्ण सन्देश प्रकाशन गर्ने पत्रिकामाथि कारबाही हुनु पर्ने माग राखेको छ । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघको केही दिन पहिले सञ्चार माध्यममा प्रेस विज्ञप्ति निकालेर विभिन्न ब्राण्डका चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको दाबी गरिएको छ। यसरी विज्ञापन गर्नु नै कानुन विपरीत रहेको र उनीहरुको दाबी समेत झुटो रहेको भन्दै एक्सन नेपालको गम्भीर ध्यानाकर्षण एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले बताए ।
आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार गत वर्ष नेपालमा लगभग ११ अर्ब २६ करोड ६६ लाख ६६ हजार ६ सय ३७ खिल्ली चुरोट उत्पादन भएकोमा उक्त उत्पादनबाट कूल अन्त शुल्क २६ अर्ब २२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। जसमा प्रति खिल्ली रु २.३२ को दरले राजस्व सङ्कलन गरिएको थियो। विश्व स्वास्थ्य संगठनले चुरोट लगायतका धूम्रपानजन्य सामाग्रीहरूको अधिकतम खुद्रा मूल्यमा ७५ प्रतिशतसम्म करको अंश हुनुपर्छ भने पनि नेपालमा त्यसको आधा कर पनि लगाइएको अवस्था छैन।









