एघार महिनामा ७ अर्ब ४८ करोडको अलैंची बाहीरियो
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ बराबरको ४७ लाख १९ हजार ९४५ किलो अलैंची निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मूल्य र परिमाण दुवैका आधारमा निर्यात घटिरहेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ५६९ किलो अलैंची निर्यात भएको थियो ।
अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादित २ प्रतिशत अलैंची मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहँदै आएकामा पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । भारतमा कच्चा पदार्थका रूपमा अलैंची जाने गरेको छ ।
गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा अलैंची निर्यात रकम र परिमाण दुवैमा घटेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष मूल्यको आधारमा अलैंची निर्यात २.९२ प्रतिशतले घटेको विभागको तथ्यांक छ । परिमाणका आधारमा ४९.७१ प्रतिशतले अलैंची निर्यात घटेको विभागले जनाएको छ ।
पछिल्ला दुई वर्षदेखि समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको महासंघले जनाएको छ । ‘अलैंचीका लागि माघ र फागुनमा पानी पर्नुपर्थ्यो । तर यसपालि चैतमा पानी पर्यो । सुक्खायामका कारण अलैंचीका बोट पनि मरे,’ उनले भने, ‘यसपालि ५० प्रतिशत अलैंची उत्पादन घटेको थियो । त्यसैले अब थप २० देखि २५ प्रतिशत उत्पादन घट्छ ।’
कृषि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७८र७९ को तथ्यांकअनुसार देशभर १५ हजार ९ सय ७५ हेक्टर जग्गामा अलैंची खेती हुन्छ । यसबाट उक्त वर्ष ८ हजार ७ सय १४ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७७र७८ मा १५ हजार ६ सय ६८ हेक्टर जग्गामा अलैंची खेती हुँदा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको थियो ।
आर्थिक वर्ष ०७६र७७ मा १६ हजार ५ सय ६२ हेक्टर जमिनबाट ९ हजार ५ सय ४५ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५र७६ मा १५ हजार ५५ हेक्टर जमिनमा अलैंची खेती भएको थियो । उक्त वर्ष ७ हजार ९ सय ५४ टन उत्पादन भएको कृषि तथ्यांक छ ।









