image
image

कोरोना बढेसँगै आजदेखि पशुपतिनाथ क्षेत्रका सबै मन्दिर बन्द, नित्य पुजा जारी

काडमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ,गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ ।

कोरोना जोखिमका कारण पशुपति क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहिबार दिउँसो गरेको थियो ।

केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन्। मन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ।

पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए।

विश्वभर फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।

सोही ऐनको दफा ४ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द गरिने उनले बताए।

पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ। यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ।

गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।

विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान छ बजेदेखि १ बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो।

विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो। मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय खुला गरिएको थियो।

अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले विरोधसमेत जनाएका थिए।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ।

पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएपछि भेटीघाटीबाट कोषलाई हुने आम्दानी पनि बन्द हुने भएको छ। पशुपति क्षेत्रमा गत वर्षदेखि नै विदेशी पर्यटक आएका छैनन्।

विसं २०७६ चैतदेखि पशुपति क्षेत्रका सबै पर्यटक टिकट काउन्टर बन्द छन्। कोरोनाका कारण पर्यटक आउन छाडेपछि पर्यटक गाइड तथा पर्यटकका लागि लक्ष्य गरी विभिन्न सामग्रीको व्यापार व्यवसाय गरेकाहरु समेत मर्कामा परेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।