नेपाल र चीनबीच राँगाको मासु निर्यात सम्बन्धी सम्झौता
काठमाडौं । नेपालबाट राँगा र भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ।काठमाडौंमा सोमबार भएको कार्यक्रममा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
सोही क्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यो सम्झौता नेपाल चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको बताएका छन् । नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गर्ने भन्दै नेपालमा रागाँभैसी पालन समाजको अभिन्न अङ्गको रुपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित भएको बताए ।
यस्तै, उनले नेपाल सरकार नेपाली जनतालाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न लागिरहेको सन्दर्भमा पशुपन्छीपालन रोजगारी सिर्जनाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा अगाडी आएको पनि बताए ।
यसको साथै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि यो सम्झौताले नेपाललाई धेरै कुराहरुमा सहयोग पुग्ने भन्दै यसले दुई देशबीच अझ राम्रो सम्बन्ध स्थापित भएको बताए ।
उनले भने, ‘लामो समयदेखि चीन र नेपालबीच राम्रो सम्बन्ध रहेको छ । आवश्यक परेको बेला एकअर्कालाई सहयोग गर्ने हाम्रो एतिहासिक परम्परा हो । आज जुन सम्झौता भयो, यसले हामीलाई धेरै कुराहरुमा सहयोग पु¥याउछ । एउटा विषयले धेरै कुरालाई छुने गर्छ त्यसैले यो सम्झौताले दुई देशबीच अझ राम्रो सम्बन्ध जोड्ने काम गर्छ ।’









