लक्ष्मी सनराइज बैंक र आइएफसीबीच विषेश सम्झौता
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ।
नेपालमा यस प्रकारको पहिलो पहलका रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्नेछ। अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ।
पतिरपत्नि, वृद्ध आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो। यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरूको दुरुपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरूबाट आफ्नो लागि नभई अरूका लागि ॠण लिन बाध्य बनाइनु जस्ता क्रियाकलापहरू पर्छन्।
यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ।
‘वित्तीय दुरुपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ। यस साझेदारीमार्फत हामी वित्तीय दुरुपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौ,’ आइएफसीका बंगलादेश, भुटान, र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले भने।
एम्पावर फाइनान्स एलायन्सु मार्फत आइएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्ग निर्देशन दिनेछ। यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्याउनेछ।









