फागुन ११ गतेदेखि आइपीओ निष्काशन गर्दै नेपाल माइक्रो इन्स्योरेन्स
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, कम्पनीका कर्मचारीहरू र सामूहिक लगानी कोषहरूलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो भने कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।









