‘बाधा तोड्दै – जीवन रूपान्तरण गर्दै’ भन्ने विषयवस्तुका साथ जोन्टा क्षेत्र २ बैठक सम्पन्न
काठमाडौं । ‘बाधा तोड्दै – जीवन रूपान्तरण गर्दै’ भन्ने विषयवस्तुका साथ जोन्टा जिल्ला २५ द्विवर्षीय २०२४–२०२६ को क्षेत्र २ को पहिलो क्षेत्रीय बैठक काठमाडौँमा सम्पन्न भएको छ । उक्त बैठकमा बङ्गलादेशबाट २२ जना जोन्टियनहरू र नेपालबाट ५६ भन्दा बढी जोन्टियनहरूको उपस्थिति रहेको थियो। बैठकले महिलाहरू तथा किशोरीहरूको सशक्तिकरण, शिक्षा, र वकालतप्रति जोन्टाको मूल्यमान्यता उजागर गरेको छ ।
क्षेत्रीय निर्देशक जोन्टियन मीरा ज्योतिले बैठकको अध्यक्षता गर्नुभयो, जसलाई जिल्ला फाउन्डेसन एम्बेसडर सह–अध्यक्ष जोन्टियन सीमा गोल्छाले आह्वान गर्नुभएको थियो। सहभागी क्लबहरूले आफ्ना गतिविधिहरूको समीक्षा गर्दै परिवर्तनका लागि प्रतिबद्धता दोहोर्याए।
यस कार्यक्रमले महिलाहरू र किशोरीहरूको वकालत, सेवा, तथा सशक्तिकरणप्रति जोन्टाको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो। साथै, जोन्टा इन्टरनेशनलको जलवायु न्याय लक्ष्यलाई समर्थन गर्दै दिगो कार्य र वातावरणीय उत्तरदायित्वको महत्त्वलाई उजागर गर्यो।
जिल्ला २५ का गभर्नर डा. जरीन देलवारले लैंगिक समानता र वातावरणीय उत्तरदायित्वको अन्तर्सम्बन्धबारे जोड दिँदै भन्नुभयो, "नेपाल र बङ्गलादेशका साथी जोन्टियनहरूसँग भेट्न पाउनु साँच्चै प्रेरणादायी छ। हामी आफ्नो कथाहरू साझा गर्दै एकअर्काबाट शक्ति प्राप्त गर्दैछौं। जलवायु परिवर्तन हाम्रो सबैको समस्या हो। यस विश्वव्यापी चुनौतीलाई समाधान गरेर हामी हाम्रो वातावरणको रक्षा गर्छौं, र एक उज्ज्वल, दिगो भविष्यका लागि मार्ग, नेतृत्व गर्छौ ।"
यस बैठकमा तत्कालीन जिल्ला गभर्नर जोन्टियन श्रीजना राणा, जिल्ला कोषाध्यक्ष जोन्टियन खादिजा अफजल, जिल्ला सचिव जोन्टियन अनिजा चौधरी, उपक्षेत्र २ निर्देशक जोन्टियन जाहिदा खातुन, साथै जिल्ला २५ का विभिन्न समिति अध्यक्ष, सह–अध्यक्ष, र क्लब अध्यक्षहरूको पनि उपस्थिति थियो।
कार्यक्रममा तीन प्रेरणादायी वक्ताहरूले आफ्ना विचार व्यक्त गर्नुभयो – लक्की छेत्री (३ सिस्टर्स एडभेन्चर ट्रेकिङकी संस्थापक) डा.शिव सत्य वंस्कोटा (ICIMOD) र बिनिता अधिकारी (अन्तर्दृष्टिकी संस्थापक)। लक्की छेत्रीले महिलाहरूको सशक्तिकरणका लागि आफ्ना प्रयासबारे बताउनुभयो, डा. वंस्कोटाले जलवायु परिवर्तन र न्यायबारे बहुमूल्य जानकारी दिनुभयो, र बिनिता अधिकारीले यौन दुर्व्यवहार पीडितहरूको सहयोगसम्बन्धी आफ्नो अनुभव साझा गर्नुभयो।









