लिपमोटरको नयाँ मोडल टी ०३ नेपाली अटो बजारमा भित्रियो, मुल्य कति ?
काठमाडौं । लिपमोटरको नयाँ मोडल टी ०३ नेपाली अटो बजारमा भित्रिएको छ ।लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिले मंगलबार एक समारोहकाबिच यो मोडल लन्च गरेको हो । लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर क्षेमताको ब्याट्री प्याक छ । यसले फुल चार्जमा ३९५ किलोमिटरसम्म रेन्ज दिने कम्पनिको दाबी छ ।
टी०३ मा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।गाडी ३६२० एमएम लम्बाइ, १५७७ एमएम चौडाइ र १६५२ एमएम उचाइमा छ भने यसको ह्विलबेस २४०० एमएम छ।गाडीको टप स्पिड १३० किलोमिटर प्रतिघण्टा छ। गाडीले ४५ किलोवाटको डीसी फास्ट चार्जर समेत सपोर्ट गर्छ।
गाडीको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ।कम्पनिका अनुसार यो मोडल ५ वटा कलरमा उपलब्ध छ । यसमा लक्जरी श्रेणीका सवारीसाधनमा पाइने ८ वटा एयरब्याग छन्। टी०३ को मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
लिपमोटर टी–०३ मा ‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ दिइएको छ । उक्त भोइस एसिस्टेन्सको सहयोगले फोनकल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्याड्स फ्रीमै कन्ट्रोल गर्न सकिने कम्पनिको भनाइ छ ।
सांग्रिला मोटर्सले टी०३ भन्दा पहिले नेपाली बजारमा लिपमोटर सी१० भित्र्याइसकेको छ । सांग्रिला २०१७ देखि प्यूजोको र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ ।









