नेवार समुदायले स्पष्ट रूपमा राजतन्त्रको पक्षमा नरहेको जनाए
काठमाडौँ ।नेवार समुदायका बुद्धिजीवीहरूको बैठकले आफूहरू राजतन्त्रको पक्षमा नरहेको स्पष्ट पारेको छ। उनीहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र समावेशी लोकतन्त्रका पक्षमा उभिने निर्णय गरेका छन्। विज्ञप्तिमा, पुरानो सामन्ती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले नेवाः लगायत अन्य समुदायलाई भाषिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा दमन गरेको उल्लेख गरिएको छ। त्यस्तै, दोस्रो जनआन्दोलनपछि जारी भएको नयाँ संविधानमा यी व्यवस्थाहरू उल्लेख भए पनि उत्पीडित समुदायका पहिचान र स्वशासनका मागहरू पूरा हुन बाँकी रहेको पनि विज्ञप्तिमा भनिएको छ। नेवार समुदायले राजतन्त्रको पुनर्स्थापनाका लागि भइरहेको गतिविधिहरूलाई अस्वीकार गर्दै जात्रा र चाडपर्वहरूको मौलिकता र महत्त्वको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ।









