नागरिक समाजले अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै धर्ना
काठमाडौँ । नागरिक समाजले अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै आज बिहान काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएको छ। यस अवसरमा, उनीहरूले गणतन्त्रको मजबूती, अराजकता नियन्त्रण, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चितता, लोकतन्त्रको रक्षा, नागरिक अधिकारको संरक्षण, निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य, मिडियामाथिको हमला बन्द र प्रेस स्वतन्त्रता कायम गर्नका लागि विभिन्न प्लेकार्ड र नारा प्रदर्शन गरे।
धर्ना कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गैरसरकारी संस्था महासङ्घका अध्यक्ष एवं वृहत् नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत र सशक्त हुन तथा लोकतन्त्रको पक्षमा उभिन आग्रह गरे। उनीले लोकतन्त्रमा लागेको 'घुन पुतली'लाई हटाउनुपर्ने आवश्यकता औँल्याए। यसैगरी, उनले हालका घटनामा गम्भीर हुन र जनताको निराशालाई चिर्न सेवा प्रवाहमा सहजता प्रदान गर्न आह्वान गरे।









