दक्षिण कोरियाको जंगलमा आगो कसले लगाएका थिए ?
काठमाडौं । दक्षिण कोरियाको दक्षिणी क्षेत्रको जङ्गलमा गएको डढेलोको कारण पत्ता लागेको छ। डढेलोको अनुसन्धानका क्रममा प्रहरीले ५६ वर्षका एक पुरुषलाई सन्दिग्धको रूपमा पहिचान गरेको हो। उनी आफ्ना पुर्ख्यौलीहरूको चिहान सफा गर्ने क्रममा चुरोटको लाइटरले चिहानमाथि झुन्डिएका रूखका हाँगाहरू जलाएका थिए। तेज हावाका कारण आगोको ज्वाला बढेर सम्पूर्ण जङ्गलमा फैलिएको थियो। प्रहरीले ती पुरुषविरुद्ध मुद्दा दर्ता गरेको छ, तर उनलाई पक्राउ गरिएको छैन र सोधपुछका लागि बोलाइएको छ। उनी आफूमाथिको अभियोग अस्वीकार गर्दैछन्।
डढेलोका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। आगोले ३०० भन्दा बढी भवन र अन्य संरचनाहरू ध्वस्त पारेको छ। ४८,००० हेक्टर क्षेत्रफल नष्ट भएको छ। उत्तरी ग्योङसाङको उइसोङ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। अनुसन्धानकर्ताहरूले सन्दिग्धकी छोरीसँग पनि सोधपुछ गरेका छन्। उनका अनुसार, मार्च २२ मा आफ्ना हजुरबुबा र हजुरआमाको चिहान सफा गर्ने क्रममा उनका बुबाले चुरोटको ठुटोले चिहानमाथि झुन्डिएका रूखका हाँगाहरू जलाउने प्रयास गरेका थिए। यसपछि हावासँगै द्रुत गतिमा आगो फैलियो र जङ्गलभरि आगो सल्कियो।
प्रहरीले सन्दिग्ध र उनकी छोरी दुवैको पहिचान गोप्य राखेको छ। दक्षिण कोरियामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी मानिएको छ। मृत्यु हुनेमा एक पाइलट पनि रहेका छन्, जो हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका थिए। आगो नियन्त्रण गर्ने प्रयास गर्दा चार जना अग्नि नियन्त्रक र अन्य कामदारहरूको पनि आगोमा फसेर मृत्यु भएको थियो।









