image
image

८३ वर्षीया विधवा सरिता भन्छिन ‘उतार्नुहुन्न श्रीमानसंग गाँसिएका सौभाग्य’

काठमाडौं, वैशाख  १८ । “पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने?” यो भनाइ काठमाडौँको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उहाँ सिन्दुर, चुरा, पोते र रातो परिहनमा हुनुहुन्छ ।


पतिको दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने सदियौँदेखिको प्रचलन छ । तर, सरिताले यो परम्परा तोडेको सुन्दा पत्याउन गाह्रो हुन्छ । उहाँ भन्नुहुन्छ, “सिन्दूर–पोते र चुरा पतिको सुन्दर उपहार हो । यसलाई जतन गरी लगाउनुपर्छ । श्रीमान्सँग गाँसिएको सौभाग्य उतार्नुहुन्न ।”

सरिताले आफूले मात्र रातो बस्त्र लगाएर बस्नुभएको होइन । छोराहरूलाई पनि सेतो बस्त्र लगाउन दिनुभएन । उहाँका छोराहरू विमल र अमललाई सेतो बस्त्र लगाउन रोक्नुभयो । “मानिसलाई जीवित छँदा राम्रो हेरचाह, माया गर्नुपर्छ”, उहाँले भन्नुभयो, “रुढीवादी परम्पराका पछाडि लागेर बाँचेकालाई दुःख दिनुहुँदैन ।”

त्यति मात्र होइन, सरिताले १३ दिनसम्म भोकै बस्दा आफ्ना सन्तान कमजोर हुन्छन् भनेर सात दिनमै काजकिरिया सक्न लगाउनुभयो र तीन दिनबाट दुई छोरा र तीन छोरी सनम, निसम र कुसुमलाई खान भन्नुभयो । “कति महिला सानै उमेरमा विधवा भएका छन्, म सन्देश दिन चाहन्छु”, उहाँले जोड्नुभयो, “रुढीवादी परम्परा हो यो, पतिको चिनो फाल्नु पर्दैन, लगाउनुपर्छ ।”

स्व पौडल शिक्षासेवी हुनुहुन्थ्यो । उहाँले धेरै क्याम्पस प्रमुख भएर काम गर्नुभयो । उहाँले आफ्नो निधन हुनुअघि नै आफूलाई शवदाहगृहमा अन्तिम संस्कार गर्न परिवारसँग आग्रह गर्नुभएको थियो । अनि आफ्ना छोराहरूलाई कोरामा नबस्न आग्रह गर्नुभएको थियो । “आफ्नो बाबुलाई जलाउँदा सन्तालाई पीडा हुन्छ, मलाई शवदाहगृहमा जलाउनु”, पौडेलकी नातिनी प्रज्ञा पौडेल खड्काले सुनाउनुभयो, “खाली ठाउँमा गएर कोरा बस्नु पर्दैन, घरमै बस्नु भन्नुभएको थियो ।”

जीवनका उत्तराद्र्धमा पनि उहाँहरू आफ्नो काम आफैँ गरेको अनुभव प्रज्ञाले सुनाउँदै भन्नुभयो, “हजुरआमा ८३ वर्षको हुनुहुन्छ, तिमीहरू आफ्नो काममा लाग, कसैलाई दुःख दिन्न, मेरो हातखुट्टा चलिञ्जेल आफैँ गरेर खान्छु भन्नुहुन्छ ।”

समाजमा परम्पराअनुसार काजकिरिया गर्नुपर्छ । पति बितेका महिलालार्ई अहिले पनि रातो कपडा लगाउन हुँदैन । सिन्दुर पोले लगाउन हुँदैन भन्ने विश्वास यथावत छ । जीवनको उत्तराद्र्धमा पतिको निधनपछि गरेका क्रियाकलाप समाजका लागि सकरात्मक उदारहणका रूपमा लिन सकिन्छ ।रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।