काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर घटयो
काठमाडौँ । हावाको गतिले काठमाडौँ उपत्यकाको वायु प्रदूषण घटायो ।
हावाको गति बढेसँगै आज काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा घटेको छ। केही दिनअघि विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको रूपमा चिनिएको काठमाडौँ आज प्रदूषणको मात्रा घटेर सातौँ स्थानमा पुगेको छ।
'एयर क्वालिटी इन्डेक्स' का अनुसार बिहीबार मध्यान्हमा प्रदूषणको स्तर ३४८ एक्यूआईसम्म पुगेको थियो। आज समाचार तयार गर्दा प्रदूषणको स्तर १४७ एक्यूआईमा झरेको छ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० एक्यूआईलाई राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार हावाको गति बढेकाले प्रदूषणको मात्रा घटेर विश्वको पहिलो प्रदूषित सहरबाट सातौँ स्थानमा पुगेको हो। उनी अनुसार पानी परेमा सतहमा रहेको प्रदूषण तल खस्छ र हावा चल्दा उपत्यकामा थुप्रिएर बसेको प्रदूषण उडाएर लैजान्छ। प्रदूषण न्यूनीकरणका लागि विभागले व्यापक जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिएको छ र प्रदूषण गराउनेलाई सुझाव दिइरहेको छ। यसैगरी वातावरण विभाग र अन्य सरोकार भएका निकायबीचको समन्वय पनि आवश्यक रहेको उनले बताए।









