महाधिवेशनको औपचारिक निर्णय गर्न बोलायो बैठक : राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बिहीबार, वैशाख १७ गते, पार्टीको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकको प्रमुख एजेन्डामा पार्टीको आगामी पहिलो राष्ट्रिय महाधिवेशनको मिति र तयारीबारे औपचारिक निर्णय गर्ने छ। यसअघि, पार्टीले वैशाख २५ देखि २७ सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर, सभापति रवि लामिछाने सहकारी मुद्दामा थुनामा परेपछि महाधिवेशनको मिति स्थगित गर्ने वा सार्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने तयारी गरेको छ।
बैठकका अन्य एजेन्डामा अघिल्लो बैठकको निर्णय कार्यान्वयन, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, समसामयिक राजनीतिक घटनाक्रममा छलफल, र पार्टीका विशेष कार्यक्रमहरूको प्रगति समीक्षा गर्ने समावेश छन्। यसमा जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, र सङ्गठन सबलीकरणका विषयमा पनि छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यस बैठकले पार्टीको आगामी रणनीति र महाधिवेशनको मिति निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।









